सुचना, समाचार र मनोरन्जन

रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं/

पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पनि अनुमति दिएको छ ।

यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो । जिल्ला अदालत काठमाण्डौले पनि सहकारी बचत रकम हिनामिना अनुसन्धानकै लागि पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको निवेदनमा अदालतले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछाने सहित गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ अनुमति दिएको छ ।

जोशी पनि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । स्वर्णलक्ष्मी प्रकरणमा प्रहरीले यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा सहकारीको रकम आएको निष्कर्षसहित तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेपछि प्रहरीले पक्राउ अनुमति मागेको हो ।

पाँचवटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.