काठमाडौँ :
ग्रामीण चेतना, सामूहिक जागरण र सामाजिक एकताको सन्देश बोकेको नयाँ गीत ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायिका सीडी विजया अधिकारी र चर्चित स्वरकी धनी रचना रिमाल ले संयुक्त स्वर दिएका छन् ।
वर्तमान सामाजिक–राजनीतिक परिवेशमा गाउँ समाजको सक्रिय सहभागिता र जागरुकताको आवश्यकता औंल्याउँदै तयार पारिएको यस गीतले सन्देशमूलक सिर्जनाको अभाव भइरहेका बेला नयाँ बहस जन्माउने संकेत गरेको छ।
गीतका शब्द सर्जक पद्मा लिंखा मगर ले लेखेकी हुन्। उनले गाउँको मौलिकता, सामूहिक शक्ति र सामाजिक उत्तरदायित्वलाई शब्दमार्फत उजागर गर्ने प्रयास गरेकी छन्। उनका शब्दहरू केवल गीतात्मक अभिव्यक्ति मात्र नभई गाउँ समाजप्रतिको आह्वान र सचेतनाको सशक्त सन्देशका रूपमा उभिएका छन्।
संगीतकार राजकुमार बगर ले गीतमा लय तथा संगीत भरेका छन्। मौलिक धुन र सरल संरचनामार्फत सन्देशलाई सहज रूपमा श्रोतामाझ पुर्याउने प्रयास गरिएको छ। संगीत संयोजन राजु कार्की ले गरेका हुन्,जसले आधुनिक तथा परम्परागत वाद्ययन्त्रको सन्तुलित प्रयोगमार्फत गीतलाई थप सशक्त बनाएका छन्।
सन्देशप्रधान शब्द, समसामयिक विषयवस्तु र प्रभावशाली स्वरका कारण ‘उठौं उठौं गाउँवासी’ले गाउँ समाजमा सकारात्मक बहस र चेतनाको लहर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
