सुचना, समाचार र मनोरन्जन

शोभित बस्यालको नयाँ यूट्यूब च्यानल ‘P Series’ बाट बीस वर्षपछि चलचित्र ‘मार्केट’ सार्वजनिक

पोखरा,

सपना पुरानो हुन सक्छ, तर सिर्जनाको यात्रा कहिल्यै पुरानो हुँदैन। यही सिर्जनात्मक सोचलाई आत्मसाथ गर्दै परिचय एड्भरटाइजिङ तथा परिचय डटकमका सञ्चालक शोभित बस्यालले ‘P Series’ नामक नयाँ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ। छोरी प्रनाक्क्षी बस्यालको जन्मदिनको अवसर पारी बस्यालले आफ्नो बीस वर्ष पुरानो चलचित्र मार्केट सार्वजनिक गर्दै शुक्रबार युट्युब च्यानल सार्वजनिक गर्नुभएको हो ।

 “अनुभव हाम्रो सम्पत्ति, काम हाम्रो पूजा, कर्म हाम्रो धर्म र सिर्जना हाम्रो परिचय” भन्ने मूल भावनासहित सुरु गरिएको ‘P Series’ मार्फत चलचित्र, गीत–सङ्गीत, मनोरञ्जन, व्यवसाय सञ्चालन तथा विस्तारका अनुभव, पोडकास्टलगायत विविध सामग्री उत्पादन तथा प्रसारण गरिने बस्यालले जानकारी दिनुभएको छ।

चलचित्र ‘मार्केट’ को कथा शोभित बस्यालले लेख्नुभएको हो भने पटकथा राजेन्द्र अधिकारी ‘अपूर्ण’ ले तयार पार्नुभएको हो। श्रीराम पौडेल र वासुदेव पोखरेलको निर्देशन रहेको चलचित्रको छायाङ्कन श्रीकान्त सिग्देलले गर्नुभएको छ। कुशल पौड्याल निर्माता रहेको चलचित्रमा अमित गुरुङ, सामसुङ तामाङ र सर्वज्ञ मान शाक्यको सङ्गीत रहेको छ। चलचित्रको रेकर्डिङ बुद्ध दाइको बार स्टुडियोमा गरिएको हो।

Chaka Panja

चलचित्रमा शोभित बस्याल, विमला थापा, स्वीटी कार्की, दीपक बजगाईं, सुजन शिल्पकार, शर्मिला बस्नेत, एकराज अधिकारी, एलबी थापा, राजेन्द्र अधिकारी ‘अपूर्ण’, श्रीकान्त सिग्देल, नवीन घायल, देशभक्त सिंह कुँवर, प्रतिभा सुवेदी, शिव शर्मा चञ्चल, सञ्जय मल्ल, टीकाराम शर्मा, पुष्कर थापा, हंसराज खवास, बिन्दिया गौतम, कुशिमान गुरुङ र सन्तोष घिमिरेलगायत कलाकारको अभिनय रहेको छ।

विगत १७ वर्षदेखि पोखरामा रहेर व्यवसाय, अनलाइन सञ्चारमाध्यम तथा विज्ञापनको क्षेत्रमा सक्रिय बस्यालले परिचयलाई व्यावसायिक पहिचानसँगै सिर्जनात्मक अभिव्यक्तिको माध्यमका रूपमा विस्तार गर्दै आउनुभएको छ। परिचय एड्भरटाइजिङमार्फत उहाँले अनलाइन समाचार पोर्टल Parichaya.com, इभेन्ट म्यानेजमेन्ट (Event Management), प्रचारप्रसार (Promotion), डिजाइन (Design), एलईडी डिस्प्ले (LED Display), भिडियो तथा फोटो उत्पादन (Video and Photo Production) र ड्रोन छायाङ्कन (Drone Shooting) लगायतका सेवा प्रदान गर्दै आउनुभएको छ।

व्यवसाय, सञ्चार र विज्ञापनको क्षेत्रमा हासिल गरेको अनुभवलाई डिजिटल सामग्री उत्पादनसँग जोड्ने उद्देश्यले ‘P Series’ सुरु गरिएको बस्यालले बताउनुभएको छ। चलचित्र ‘मार्केट’ को  रिलिजबाट सुरु भएको यस यात्रामार्फत मनोरञ्जनसँगै उद्यमशीलता, व्यवसाय सञ्चालन तथा विस्तारका अनुभव र सिर्जनात्मक कथाहरू दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

बस्यालले  ‘P Series’ मनोरञ्जनात्मक तथा सन्देशमुलक सामग्री प्रसारण र सिर्जनात्मक पहिचानलाई थप फराकिलो बनाउने बलियो माध्यमको रुपमा अगाडी बढाउने सोच रहेको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.