सुचना, समाचार र मनोरन्जन

मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्यलाई तीव्र रुपमा बढाउन पर्यटन व्यवसायीको माग

भूकम्प, कोभिड १९ लगायतका विपद्ले प्रभावित भएको पर्यटन क्षेत्र माथि उठ्ने समयमा पोखरा काठमाडौँको सडक खण्ड तथा पोखरा मुग्लिन सडक खण्ड निर्माणमा निकै ढिला सुस्ती र अव्यवस्थित ढंगले काम भएकोले त्यसलाई निर्धारित समयमै सक्ने गरी व्यवस्थित र तीव्र रुपमा काम गर्न परिषद्ले माग गरेको हो ।

पोखरा /

मुग्लिन–पोखरा सडक खण्डको विस्तार र स्तरोन्नति कार्यलाई व्यवस्थित र तीव्र रुपमा अघि बढाउन पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ ।

भूकम्प, कोभिड १९ लगायतका विपद्ले प्रभावित भएको पर्यटन क्षेत्र माथि उठ्ने समयमा पोखरा काठमाडौँको सडक खण्ड तथा पोखरा मुग्लिन सडक खण्ड निर्माणमा निकै ढिला सुस्ती र अव्यवस्थित ढंगले काम भएकोले त्यसलाई निर्धारित समयमै सक्ने गरी व्यवस्थित र तीव्र रुपमा काम गर्न परिषद्ले माग गरेको हो ।

पोखरा मुग्लिङ राजमार्ग अवलोकन गर्दै परिषद्को एक टोलीले आइतबार तनहुँमा पत्रकार भेटघाट कार्यक्रममा मार्फत सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न माग समेत गरेको छ । विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन जरुरी रहेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरूको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके झनै उत्तम हुने बताएका अध्यक्ष श्रेष्ठले सडक विस्तार कार्यलाई व्यवस्थित र तीव्र रुपमा अगाडि बढाउन सरकार, निर्माण पक्ष र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराए ।

नेपालका दुई ठूला शहर-काठमाडौँ र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेनको बनाउने कार्य निकै महत्वपूर्ण र सराहनीय भएको आइतबार परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत उक्त खण्डमा सडक स्तरोन्नति कार्य जारी रहेकोमा उच्च प्रशंसा गर्दै परिषद्ले जुन गति र स्तरमा यो सडक विस्तार कार्य अगाडि बढेको छ, यसले आम उपभोक्ता, निजी क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासोहरू उब्जाएको जनाएको छ ।

अध्यक्ष श्रेष्ठले भने “छोटो दुरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्क लाग्दो र कष्टपूर्ण यात्रा, बिरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना हुन पुगेको छ, यतिमात्र नभई ढिलो गतिमा काम अगाडि बढ्दा लामो समयसम्म सडक वरपरका बासिन्दाले धुलो, धुँवा र ध्वनि प्रदूषणको समस्याबाट गुज्रँदै स्वास्थ्य जोखिमको सामना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।”

यसैगरी नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको अध्यक्ष श्रेष्ठले जनाए । काठमाडौँ वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिङ्गो दिन खर्चनुपर्ने अवस्था सिर्जना भएको परिषद्ले उल्लेख गर्दै काठमाडौँ–पोखराबिचको पाँच देखि छ घण्टा लामो बस यात्राका लागि अहिले १२ घण्टा सम्म लाग्ने गरेको गुनासो गरेको छ ।

निजी क्षेत्रले विक्री योग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको बताउनु भएको अध्यक्ष श्रेष्ठले यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको दाबी गरे । औपचारिक रूपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको अवस्थामा पोखराका लागि त यो झनै नकारात्मक अवस्था भएको परिषद्को भनाई रहेको छ । सडक विस्तार कार्य सुरु भएको यतिका समय गुज्रँदा पनि निकै कम प्रतिशत मात्र प्रगति हुनु निरासाजनक र दुःखद पक्ष भएको अध्यक्ष श्रेष्ठले बताए ।

परिषद्ले यस विषयमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेश सरकारका प्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराइसकेको छ ।

Leave A Reply

Your email address will not be published.