सन्तोष बस्याल,पोखरा ।
सरकारी जागिर खाने चाहना अक्सर सबैको हुन्छ । प्रशासनिक क्षेत्र होस् या शैक्षिक क्षेत्र सरकारी जागिरका लागि नै मरिहत्ते गर्ने यहाँ धेरै छन् । लोकसेवा परीक्षा पास गरी सरकारी जागिरमा नाम निकाल्ने ध्याउन्नमै लागिरहेको पाइन्छ । सरकारी जागिर नभए विकल्पका रुपमा वैदेशिक रोजगारलाई हेर्ने गरिएको छ । खासगरी अहिलेका युवाहरुमा यस्तो समस्या देखिन्छ । देशमा नै लगानी गरेर आर्थिक उपार्जन गर्न खोज्नेहरुको जमात सानो छ । कारण देशको राजनीतिक अस्थिरता पनि हुन सक्छ । तर सबै भन्दा ठूलो समस्या भनेको आफ्नो विचारमा अडिकता नहुनु र निरन्तरताको अभाव हो ।
यति भनिरहँदा यही समाजमा सरकारी जागिर छाडेर व्यवसायमा लाग्नेहरु पनि भेटिन्छन् । यस्तैमा एक हुन् सबिता श्रेष्ठ । पोखरा ११, रानीपौवाकी सबिता श्रेष्ठ अहिले अमरसिंहचोक—१० मा बस्छिन् । उनको व्यवसायिक जीवनगाथा पनि रहर लाग्दो छ । आज भन्दा १४ वर्ष अगाडि सबिता शैक्षिक पेशामा आबद्ध थिइन् । सरकारी विद्यालयमा उनी पढाउने गर्थिन् । डिग्री सम्मको अध्ययन गरेको भएर पनि होला शैक्षिक क्षेत्रमा सहज रुपमा नै उनलाई जागिर मिल्यो । पारिवारिक परिस्थतिका कारण उनले जागिरलाई निरन्तरता दिन सकिनन् । पढाउने जागिर छाड्नुपर्यो ।
गृहणी महिला भएकाले पनि घरमा चुलोचौको बढी गर्नुपथ्र्यो । तर पनि उनले हिम्मत हारिनन् । जागिर छाडेता पनि व्यवसाय गर्ने इच्छा सबितामा आयो र १४ वर्ष अगाडि ३० हजार लगानीमा विद्याता हस्तकला प्रशिक्षण केन्द्र नाम राखी व्यवसाय सुरुवात गरिन् । व्यवसाय त सुरुवात भयो तर अब कसरी संचालन गर्ने भन्ने चुनौति उनमा थियो । कारण हस्तकलाको काम उनलाई खासै आउँदैन्थ्यो । घरमा नै दिउँसोको खाली समयमा उनले आफुलाई समय दिइन् र थामिन् सियो धागो ।
खासगरी हस्तकलाका विषयमा उनलाई सामान्य जानकारी चाहिँ थियो । जसले केही हदसम्म अगाडि बढ्न मदत गर्यो ।
जतिबेला व्यवसाय सुरुवात भयो समाजमा उनलाई हेर्ने नजर फरक थियो । पढेलेखेकी मान्छे सियोधागोमा रमाइरहेको देख्दा वरिपरि कुरा काट्नेहरु धेरै भेटिन्थे । जसलाई सबिताले वास्तै नगरी अगाडि बढीरहिन् । उनलाई थाहा थियो महिला त्यसमाथि पनि बुहारी भएकाले व्यवसाय क्षेत्रमा लाग्नबाट समाजले निरुत्साहित गर्छ । तर उनी लडिरहिन् आफैसँग, परिवारसँग र समाजसँग । विस्तारै उनलाई सफलता मिल्दै गयो । आज भन्दा भोली व्यवसायले राम्रो रुप धारण गर्न थाल्यो । परिवारले पनि बुझ्दै गए । पछि समाजलाई बुझाउन सकस भएन । व्यवसायकै कारण अहिले उनले आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । उद्यमी महिलाको लिस्टमा उनको नाम समेत समावेश हुन्छ । यो सबै सबिताको निरन्तर र अथक मेहेनतको प्रतिक हो ।
३० हजार लगानीबाट सुरु गरेको विद्याता हस्तकला प्रशिक्षण केन्द्र अहिले दुई करोडमा पुगेको छ । रामबजारमा आउटलेट नै संचालनमा आएको छ । कास्की जिल्ला मात्रै नभई लमजुङ, तनहुँ, स्याङजामा समेत विद्याता हस्तकलाको बजारिकरण फैलिएको छ ।
विद्याता हस्तकलाको सुरुवात गुडियाबाट भएको हो । त्यसपछि वातावरण मैत्री झोला बन्नथाल्यो । स्कुल ब्याग, साइड ब्याग, ल्यापटप ब्याग, रेनकोट, चप्पल, फाइबर झोला लगायतका सामानहरु विधाता हस्तकला प्रशिक्षण केन्द्रमा उत्पादन हुन्छ ।
१० जना महिलाहरुले विद्याता हस्तकलामा रोजगार पाएका छन् । अन्य ५/७ जनाले घरमै सामान बनाएर विद्याता हस्तकलालाई बेच्ने गर्छन् । विद्याता हस्तकलाले उत्पादन मात्र नभई प्रशिक्षण पनि गर्दै आएको छ । हस्तकलाको काम सिक्न इच्छुकका लागि निुशुल्क प्रशिक्षण दिने गरिएको छ । आफु जस्तै उद्यमी उत्पादन गर्दैछिन् सबिता ।
व्यवसायबाट सन्तोषजनक आम्दानी प्राप्त हुने गरेको सबिता बताउँछिन् । उनका अनुसार कोरोनाकालिन समय भन्दा अगाडि व्यवसाय राम्रो थियो । त्यसपछि सबै व्यवसाय नै खस्किएको बेला विद्याता हस्तकला प्रशिक्षण केन्द्रमा त्यसको बाछिटा नपर्ने कुरै भएन । विद्याता हस्तकला प्रशिक्षण केन्द्रले गुणस्तरियतामा विशेष ध्यान दिने गरेको छ । आफ्नो व्यवसायिक साख जोगाउन र उपभोक्ताहरु नठगिउन् भन्ने हेतुले गुणस्तरिय सामान उत्पादनमा विशेष चाँसो छ ।
विद्याता हस्तकला प्रशिक्षण केन्द्रमा एक सय रुपैयाँ देखि ९ हजार सम्मका सामानहरु उपलब्ध छन् । धेरै बिक्री वितरण हुने सामानको मुल्य ८ सय देखि ९ सय रुपैयाँ सम्मको हुन्छ । मायाको चिनो प्रयोजनका लागि सामानहरु ग्राहकले लाने गरेका छन् ।
सबिता भन्छिन्,‘घरेलु तथा स्थानीय उत्पादनलाई प्राथामिकतामा राखेर हिड्नुपर्ने आवश्यकता आजको हो । जसलाई अझ मजबुत बनाउन सबैको एक्येबद्धताको खाँचो छ । कम लगानी मेहेनत धेरै चाहिने व्यवसाय भएकाले पनि यसको बजारीकरणमा ध्यान पुर्याउनुपर्ने देखिन्छ ।’
हस्तकलाको व्यवसायमा पनि चुनौति धरै भएको भनाई उनको छ । सबिताका अनुसार बनाएका सामानहरु सुरुमा नै बिक्रीवितरण हुन्छ भन्ने हुँदैन । निरन्तर उत्पादन गर्दै त्यसले बजारको रुप विस्तारै लिने हो । अर्को चुनौति भनेको महिला उद्यमी कर्जा झन्झिटिलो हुनु हो । वास्तविक महिला उद्यमीलाई भन्दा पनि पहुँचका आधारमा कर्जा वितरण हुनु समस्या भएको भनाई उनको छ । जसमा सुधारको खाँचो छ ।
भन्छिन्, ‘बैंकमा पनि महिला उद्यमी कर्जा भनेर प्रचारप्रसार गरिन्छ तर वास्तविक महिला उद्यमीहरुले पाइरहेको अवस्था छैन । जसलाई आवश्यकता छ उसले पाएको छैन । पहुँचका आधारमा त्यस्तो कर्जा आवश्यकता नै नभएको व्यक्तिले लाने गरेका छन् । दर्ता प्रणाली पनि सहज हुन आवश्यक छ । अडिट रिर्पोट, कर चुक्ता, बिजनेस प्लान, वडाको सिफारिस लगायतका कागजात जुटाउन नै महिलाहरुलाई मुस्किल पर्ने हुँदा व्यवसाय गर्न सकिरहेको अवस्था छैन । कर्जा सेवामा प्रक्रिया पु¥याउन नसक्दा उक्त सेवाबाट वञ्चित हुनुपर्ने देखिन्छ ।’
अहिले पहिला जस्तो ३० हजार लगानी गरेर व्यवसाय सुरु गर्छु भन्ने समय नभएको सबिता बताउँछिन् । कम्तीमा पनि एक लाख रुपैयाँ आवश्यक पर्छ ।
व्यवसायमा लाग्ने महिला दिदीबहिनीहरुलाई बैंकले उपलब्ध गराउने महिला उद्यमी कर्जाको विषयमा राम्रो सँग बुझेर प्रक्रिया पु¥याएर जान उनको आग्रह छ । सियो धागोमा मात्रै सिमित नरही प्रविधिमा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएकी छिन् । बढी भन्दा बढी उत्पादन गरेर हस्तकलाबाट कसरी लाभ लिन सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव उनको छ ।
विद्याता हस्तकला प्रशिक्षण केन्द्रको अबको बाटो भनेकै बजारीकरण व्यवस्थापनको हो । प्रविधिलाई आत्मसात् गर्दै उत्पादनमा जोड दिने र उत्पादित सामानको बजारीकरणलाई विस्तार गर्ने लक्ष्यका साथ विद्याता अगाडि बढ्दैछ ।
सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी प्रशिक्षण दिने कार्यलाई पनि अगाडि बढाउने सोचमा छ विद्याता । तालिम दिएका दिदीबहिनीहरुलाई रोजगारीमा जोड्ने लक्ष्य लिएर आफुहरु अगाडि बढीरहेको सबिताले बताइन् ।
पोखरा महानगरपालिकाले कोसेली घरको स्थापना गरे बजारीकरणमा सहज वातावरण मिलाउनुपर्ने आवश्यकता रहेको भनाई उनको छ ।