पोखरा ।
पोखराको अन्तर्राष्ट्रिय ब्राण्ड मार्केटिङका लागि एक दिने कार्यशाला हुने भएको छ । शनिबार पोखरा ग्राण्डमा बिहान १० बजेबाट हुने कार्यशालामा नेप्लीज मार्केटिङ एशोसिएसनका रिर्सोस पर्सन प्रोे.डा.तुलसी धरेल र कोरा टुर्सका सिइओ बिजय अमात्यले सहजीकरण गर्नेछन् ।
कार्यशालामा पोखरामा रहेर पर्यटन क्षेत्रमा काम गर्नेहरुकोे सहभागिता रहनेछ । जसमा होटल तथा रेष्टुरेण्टका संचालकहरुलाई संख्या बढी रहने धरेलले जानकारी गराए । उनले पोखराको ब्राण्ड मार्केटिङको आवश्यकतालाई औंल्याएका छन् । ‘पोखरालाई ब्राण्ड मार्केटिङ गर्नुपर्ने आवश्यकता छ । अहिले जति भइरहेको छ त्यो नै प्रयाप्त छैन । २५ वर्षदेखि क्यानडामा रहेर मार्केटिङ विषय नै पढाउँदै आएकाले पोखराको मार्केटिङलाई अन्तर्राष्ट्रिय बजारमा कसरी प्रभावकारी रुपमा लैजान सकिन्छ विषयमा जानकारी गराउने प्रयास रहनेछ ।’, उनले भने ।
पोखराको प्राकृतिक सुन्दरतालाई बेच्न नसक्दा सोचे जस्तो पर्यटन नआएको भनाई उनको छ ।
कोरा टुर्सका सिईओ विजय अमात्यले पुरानो तरिकाको मार्केटिङले मात्र अब पोखराको पर्यटन विकासमा टेवा नपुग्ने बताए । उनका अनुसार मार्केटिङ अझ व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा पोखरालाई चिनाउन आवश्यक छ ।