काठमाडौँ /
नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो ।
सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए।
तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् ।
‘जनकपुर नजिकै पुगेर पनि अकासबाटै जहाज फिर्ता भएर काठमाडौँ फर्कियो । प्राविधिक समस्या भएको भनेर जानकारी गराइयो’, नेता सुवास नेम्वाङले भने, ‘काठमाडौँबाट अर्को जहाज चढेर पुन जनकपुर जाने तयारीमा छौ ।’
सामान्यतया काठमाडौं विमानस्थल आपतकालीन अवस्थामा सुरक्षित मानिने भएकाले पाइलटले काठमाडौं बाहिरका अरु आन्तरिक विमानस्थलमा अवतरण गराउने जोखिम लिंदैनन् ।