सुचना, समाचार र मनोरन्जन

तीन महिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- सरकारको सर्वत्र प्रसंशा भइरहेको छ

काठमाडौं /

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताएका छन्।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन गर्दै प्रचण्डले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको बताएका हुन्।

उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको धारणा राखे।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको उनले बताए।

त्यस्तै जनतालाई सहज रुपमा सेवा दिनका लागी पनि सरकारले गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको उनको भनाइ छ। प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको जिकिर गरे ।

बिभिन्न उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने षड्यन्त्रहरू भइरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उनले बताए। सिंगो पार्टी एकढिक्का भएर अगाडि बढे सबै चुनौती सामना गर्न सक्ने र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्ने बताए।

समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ अभियानले सफलता प्राप्त गर्ने उहाले विश्वास व्यक्त गरे । उनले जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा रहेको धारणा राखे।

तीन महिनासम्म चल्ने अभियान अन्तर्गतमा माओवादीका नेताहरु जनताको घर(घरमा जाने माओवादीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.