सुनसरी :
आगामी महाशिवरात्रीमा प्रदर्शन हुने लक्ष्यसहित फिल्म ‘रङ्गेली’को छायांकन थालिएको छ। मंगलबार पूजाआजा गर्दै फिल्मको छायांकन इटहरीबाट प्रारम्भ भएको हो । सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका थिए।
निर्मापक्षका अनुसार फिल्मको छायांकन रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा हुनेछ। फिल्ममलाई अर्जुन सुवेदीले निर्देशन गर्दैछन्। उनका अनुसार सोमवार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो। मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन। छायाङ्कनको समयमा उपस्थित नभएतापनि फिल्मको छायाङ्कन तालिका अनुसार क्रमशः कलाकारहरूले पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए ।
उनले भने,‘दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भईरहनुभएको छ । मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिईरहनु भएको छ । हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ । त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ ।’
दया मिरुना नभएता पनि फिल्मका अर्का कलाकार प्रवीण खतिवडाको छायाङ्कन सुरु गरिएको छ। प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधवार मात्रै सुटिङस्थल पुग्नेछन् यता दयाहाङ राई भने कार्य व्यस्तताले अर्को साता मात्रै सुटिङस्थलमा पुग्नेछन् ।
निर्देशक सुवेदीका अनुसार यस फिल्ममा सुशान्त गौतमको सङ्गीत भर्नेछन्। उक्त गीतलाई युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन गर्ने तयारी भइरहेको छ। यहाँ पहिलोपटक यसप्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । फिल्मका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहने निर्माण पक्षले जानकारी दिएको छ ।
यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ । फिल्मलाई निर्देशक सुवेदीले नै लेखेका हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा रहेका छन्।
निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । बिबेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो फिल्मलाई सुशन प्रजापतिले खिच्ने छन् ।