सुचना, समाचार र मनोरन्जन
Sarangi

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने

काठमाडौँ/

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको आज आइतवार बसेको बैठकले भूकम्प पीडितका लागि सङ्घीय संसद्‍मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरूप सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराही निवासमा बसेको बैठकले भूकम्पमा परि जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

Leave A Reply

Your email address will not be published.