काठमाडौँ :
नेपालमा छायाङ्कनमा जानु अगावै फिल्मको रिलिज डेट तोकिदै आएको थियो। यस भने फिल्मको टिजर नै रिलिज भएको छ। सन्तोष सेनले निर्माण गर्न लागेको फिल्म ‘बलिदान’को टिजर रिलिज भएको हो। सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक प्री–प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हुनुपर्छ।
आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई फिल्म सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेन आफैले निर्देशन गर्दैछन् । टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिंग’ भनेका छन् । टिजर रिलिज गरिएता पनि फिल्मका कलाकार तथा प्राविधिकको विषयलाई भने लुकाइएको छ । दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले बताए ।
सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युग जनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान फिल्म हुनेछ भन्ने अनुमान गर्न मुस्किल पर्दैन । एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ ।
देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताए ।
उनले भने,‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा ‘बलिदान’मा चित्रण गर्दैछौँ । अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष कसरी जन्माउँछ भन्ने विषयवस्तुमा हामीले चलचित्र बनाउने छौँ । त्यसकै आधारमा टिजर तयार पारी सार्वजनिक गरेका हौँ।’
यो फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।