काठमाडौं :
बेलायतमा अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत गरेर लोकप्रियता हाँसिल गरेको अन्तराष्ट्रिय नेपाली फिल्म ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओस्कार अवार्डपछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली फिल्म चयन हुनुलाई नेपाली फिल्मकै इतिहासमा एउटा ठुलो सफलता मानेको निर्देशक चाम्सले बताए।
‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च सम्मान दिँदै आएको अवस्थामा नेपाली फिल्म ‘गोर्खा वारियार’ बेलायतकै प्रतिष्ठित अवार्ड बाफ्टामा चयन हुनु नेपाली फिल्म उधोगकै लागि गौरवको बिषय हो ,’ निर्देशक चाम्सले भने ।
यो अवार्डमा प्रदर्शनी गरिने चलचित्रहरुको सूची वाफ्टाले सार्वजनिक गरेको छ । यो अवार्डमा हलिउड सहित विभिन्न युरोपियन फिल्महरु पनि चयन भएका छन् । जसमा नेपाली फिल्मले यो अवार्डमा चयन भएको हो । यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म विधामा ‘गोर्खा वारियर’ले प्रतिस्पर्धा गर्नेछ।
अब यो अवार्डको लागि यी विधाहरुको लागि उत्कृष्ट पाँचको मनोनयन सूची अगाामी १८ जनवारीमा सार्वजनिक गरिने भएको छ । त्यसपछि मनोनयनमा परेका फिल्मका विभिन्न विधाबीच आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा यो अवार्ड आयोजना हुनेछ ।फिल्मलाई नेपालमा भने आगामी फागुन वा चैतमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक चाम्सले जानकारी दिए। रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेको यो फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।
यो फिल्म नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ। लन्डनको यो ऐतिहासिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् ।
यो फिल्मको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । फिल्ममा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको निर्माण पक्षको दाबी छ। गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।