सुचना, समाचार र मनोरन्जन

४५ वर्षसम्म निरन्तर लागुऔषध तस्करी गरेका छपालीको सबै सम्पत्ति जफत हुने

काठमाडौं /

लामो समयदेखि लागुऔषध चरेशको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेका देवेन्द्रविक्रम रोका छपालीको सबै सम्पत्ति जफत हुने भएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले उनको सबै सम्पत्ति जफत गर्ने फैसला गरेको हो।

सिरक र डस्नामा चरेश राखेर विभिन्न मुलुकमा पठाउने र त्यहाँबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो। ४५ वर्षसम्म चरेश तस्करीमा संलग्न काठमाडौं सीतापाइलाका छपालीको सम्पत्ति जफत फैसला भएको छ।

सम्पत्ति शुद्धीकरणको कसुरमा सोमबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो। एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ बिगो र उनको घरसहितको सम्पत्ति जफतको २०७७ को असोजमा मुद्दा दायर भएको थियो। उनको १३ वटा बैंक ६४ लाख ६६ हजार समेत जफतको दाबी गरिएकोमा विशेषले दोषी ठहर गरेपछि उनको सम्पत्ति जफतको बाटो खुलेको हो।

विभागले उनकी श्रीमती चन्द्रा रोक्काविरुद्ध पनि सोही बिगो दाबी गरी मुद्दा दायर भएको थियो। लागुऔषध कारोबारमा उनका सहयोगीहरू गोविन्द कुमार छन्त्याल, मनजित घर्ती मगर, नागेन्द्र थापामगर, जम्वा भोटे, इन्द्रबहादुर थिङविरुद्व समेत सजाय भएको छ।

२०६९ सालमा उनीहरू पनि देवेन्द्रसँगै पक्राउ परी दोषी भएर जेल भुक्तान गरी छुटेका थिए। प्रहरीका अनुसार देवेन्द्र २०३२ सालदेखि नै लागुऔषध कारोबारमा संलग्न हुँदै आएका छन्। बागलुङ स्थायी घर भएका उनी २०३८, २०४२ र २०६९ सालमा पक्राउ परेकोमा उनी तीनै पटक दोषी ठहर भएका थिए।

२०६९ सालमा पक्राउ पर्दा उनले नेपालबाट भारत हुँदा क्यानडामा चरेश तस्करी गर्दै आएको खुलेको थियो। प्रारम्भिक छानबिनमा उनको करोडौं सम्पत्ति भेटिए पनि विभागले चलखेलका आधारमा एक करोडको मात्र बिगो दाबी गरेको थियो। उनको सीतापाइलामा बंगला रहेको छ।विभिन्न ठाउँमा जग्गा खरिद गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा लागुऔषधको कारोबारबाट कृषि विकास बैंकसहित १३ वटै बैंकमा खाता खोलेर पैसा राखेको भेटिएको छ। जापान तथा हङकङलगायतका विदेशी बैंकमा खाता खोली रकम जग्मा गरेको पाइएको छ।

बागलुङ, म्याग्दीको विकट गाउँमा जन्मिएका र सामान्य आर्थिक हैसियत भएका परिवार उनीहरूले काठमाडौंमा आएर लागुऔषधको कारोबारलाई मुख्य पेसा बनाएको देखिएको छ।

यसअघि नै सम्पत्ति शुद्धीकरण विभागले शंकास्पद कारोबार {लागूऔषध चरेस}बाट गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा छपाली र उनकी पत्नी चन्द्रा रोकासहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

आपराधिक कार्यबाट छपालीसहित नागेन्द्र थापामगर, गोविन्दकुमार रोका छन्त्याल, मनजित घर्तीमगर, जबम भोट, माइला असेङ भन्ने इन्द्रबहादुर थिङसमेतको सहयोगमा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सम्पत्ति शुद्धीकरण कसुर अपराधमा अभियुक्त छपाली र उनकी पत्नी चन्द्रा रोकाविरुद्ध १ करोड ५ लाख ७२ बिगोसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो। उनीहरूले खरिद गरेको घरजग्गा, टाटा मोबाइल गाडी, बैंकमा मौज्दात रकम रोक्काको माग गरिएको थियो।

अन्य पाँच अभियुक्तलाई मतियारको सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। छपालीको नेतृत्वमा करिब चार दशकदेखि उनीहरूले लागुऔषधको गिरोह नेपालमा सञ्चालन गरेको देखिएको छ।

अभियुक्त छपालीको कतिपय बैंकमा तीन वटासम्म खाता खोलेर कारोबार गरेको पनि पाइएको छ। २०६४ साल पछिको काराबोरमा ५ करोड ५२ लाख ३५ हजार रहेको भेटिएको छ। ती बैंकमा ब्याजसमेत गरी ६४ लाख ६६ हजार त मौज्दात रहेको देखिएको छ।

वैधानिक स्रोतबाट प्राप्त गरेका भन्ने कहीँ कतैबाट नखुली लागुऔषधको अवैध कारोबारबाट आर्जन गरेको देखिन आएको विभागले दायर गरेको आरोप पत्रमा उल्लेख थियो। २०४८ साल असोज १६ मा सीतापाइलामा ७ रोपनी ५ आना २ पैसा जग्गा इन्द्रबहादुर तामाङबाट छपालीको नाउँमा दर्ता कायम रहेको पाइएको छ।

२०३८ साल चैत्र १५ मा प्रतिवादी चन्द्रा रोकाको नाम दर्ताको सीतापाइलाको कित्ता नम्बर ४०४ को ४ रोपनी र कित्ता नम्बर ३८१ को २ रोपनी १४ आना जग्गा प्रमोदप्रसाद प्रधानबाट चन्द्रा रोकाको नाउँमा दर्ता कायम भएको देखिएको छ। त्यो जग्गा तत्कालीन मूल्य २९ हजार ५ सय र १५ हजार लिखतमा उल्लेख गरिएको छ।

धादिङको नौबिसे(३ मा २८ रोपनी ५ आना २ पैसा जग्गा छपाली र चन्द्रा रोकाको संयुक्त नाममा दर्ता गरेको देखिएको छ। त्यस्तै २०५१ साल माघ १० को राजीनामा लिखतमा उल्लेख भएको ४ लाख २७ हजार ८ बिगो कायम गरिएको छ।

दाङ घोराही ३ को कित्ता नम्बर ९५ को ३ कठ्ठा साढे ८ धुर जग्गा पनि छपाली र चन्द्राको नाममा २०५१ साल फागुन ३० मा राजीनामा पारित भएको देखिएको छ। काठमाडौं भीमढुंगाको एक रोपनी जग्गा २०६८ साउन १७ मा छपालीको नाममा दर्ता गरेको पाइएको छ।

बाल्यकालदेखिनै लागुऔषध कारोबार गर्दै आएका अभियुक्त छपाली २०३८ सालमा लागूऔषध चरेसमा मुद्दा र २०४२ सालमा ब्राउन सुगर र चरेस मुद्दामा दोषी करार भएका थिए।

२०६९ सालमा चरेस मुद्दा दायर भई काठमाडौं जिल्ला अदालतबाट पटके सजायसमेत २ वर्ष ८ महिना कैद र २५ हजार जरिबाना भएको थियो भने अन्य प्रतिवादीविरुद्ध दुई कैद र १५ हजार जरिवाना तथा सवारीसाधन जफत हुने फैसला भएको थियो।

Leave A Reply

Your email address will not be published.