पोखरा ।
पोखरामा कन्दरा लाइभ कन्सर्ट आज हुँदैछ । पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट साँझ ५ बजे सुरु हुनेछ । दिउँसो ३ बजे नै गेट खुल्ला गरिनेछ । पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट हुने भएको हो ।
‘पहिला घरदेश अनि परदेश’ नारासहित गीतसङ्गीतमार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ पोखरामा आयोजना गरिएको कन्दरा लाइभ कन्सर्टमा ब्याण्डले एक दर्जन बढी गीत प्रस्तुत गर्नेछ । अल्फा स्क्वायर प्रालिको व्यवस्थापनमा हुन लागिरहेको कन्सर्टमा पोखरेली दर्शकको साथ मिल्नेमा आशावादी देखिन्छन् कन्दराका गायक बिबेक श्रेष्ठ ।
कन्दराको लाइभ कन्सर्ट हेर्नका लागि १ हजार रुपैयाँ र ३ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । टिकट डोर सेलिङ पनि गरिने आयोजकले जनाएको छ ।
कन्दराका बिबेक श्रेष्ठ सँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले गीतसंगीतलाई लाइभ प्रस्तुत गर्नेछन् ।
तिमी पारी, लेककी हे माया, तगारोमा रुमाल राखी, हङकङ पोखरा लगायतका चर्चित गीत पस्करे ३० को दशकमा चर्चा कमाएको कन्दराको यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हो । पोखराको कन्सर्ट पछि सातै प्रदेशमा कन्सर्ट हुने जनाइएको छ । त्यसपछि मात्र कन्दरा परदेश प्रवेश गर्नेछ । कन्दराले हालसम्म ६ वटा एल्वम र सयौँ गीत संगीत बजारमा पस्केको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ ।