सम्पादकीय /
राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु गरेको छ । विद्यार्थी र अभिभावक अझै पनि आइरनगेटको धङ्धङीबाट मुक्त भएका छैनन् । विद्यार्थीलाई अभिभावक र विद्यालयले अबिर, टीका र माला लगाएर परीक्षा केन्द्रसम्म पठाएका छन् । यसैले प्रतिविम्बन र प्रमाणित गर्छ, एसइई ‘फलामे ढोका’ हो भनेर । देशभरिबाट ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी २ हजार ६४ वटा परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । मुलकबाहिर जापानबाट एउटा परीक्षा केन्द्रबाट २३ जना विद्यार्थी सहभागी भएका छन् । ७७ हजार ५ सय जनशक्ति र ३० हजार सुरक्षाकर्मी परीक्षा सञ्चालनका लागि खटिएका छन् । विद्यार्थीले पढेका र बुझेका कुरा परीक्षामा लेख्दा चोरी नहोस् भनेर यति धेरै जनशक्ति प्रयोग गरिएको छ । यो आफैमा हास्यस्पद किस्सा हो । ठूलै आपदविपत्मा पनि हजारौंको संख्यामा सुरक्षाकर्मी खटिदैनन तर बोर्डले चोर्ने चोराउने कामले हुलदङगा हुने ठहर गरी यतिका संख्यामा प्रहरी परिचालन गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा प्रणालीमा व्यापक सुधार र परिमार्जन गरिदै आएकाले यस पटक प्राप्ताङ्कलाई आठ ग्रेडमा विभाजन गरेर नजिता प्रकाशन गरिने छ । परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्ने खालको छ । दुई विषयसम्म ग्रेड वृद्धिको मौका परीक्षाको व्यवस्था छ । यस वर्षदेखि सात वटा विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन र ७५ अङ्कको सैद्धान्तिक परीक्षा हनेछ । बोर्डले पटक पटक मन लाग्दी पारामा मूल्याङ्कन विधि परिमार्जन गरिरहेको छ तर यसको रहस्य बाहिर आएको छैन् । विधि केवल प्रयोगशाला भएको छ ।
बिक्रमाब्द १९९० को आखिरी पुसदेखि यो मुलुकमा प्रवेशिका परीक्षाको दैलो खुलेको थियो । यही एसएलसीलाई नै शैक्षिक जगत्का ठेकेदारहरुले फलामे ढोका याने कि आइरन गेटको बडेमानको हाउगुजी देखाएर शिक्षाका नाममा व्यापार गरे । बोर्ड फस्ट र टपटेनको ब्याज धेरै स्कुलहरूले अहिले पनि खाइरहेका छन् । आफ्नो स्कुलको विद्यार्थीलाई बोर्ड फस्ट या टपटेनभित्र पार्न सुटकेसमा दाम बोकेर प्राचार्यहरू धाएको किस्सा त्यति धेरै पुरानो भइसकेको छैन् यसर्थ शिक्षाको व्यापार भनिएको हो । एसएलसी ८२ वर्षको बुढो भएपछि वि.सं. २०७२ बाट लेटर ग्रेडिङ प्रणालीपछि यसको अन्त्य भयो र नयाँ नाम माध्यमिक शिक्षा परीक्षा (एसइई ) को कलेवरमा आयो । एसएलसीलाई कक्षा १२ को अन्तिम परीक्षामा समायोजन गरिएको छ ।
नीतिगत रूपमा हाम्रो शिक्षा प्रणाली द्वैध चरित्रको छ । एउटै मुलुकमा एउटै पुस्तालाई दुई खाले शिक्षा दिएको छ । हुनेखानेहरुका लागि सुकिलो शिक्षा र हुँदाखानेहरुका लागि धमिलो शिक्षा । यसले आफ्नै भूमिमा आफ्नै समवयीसँग द्वन्द्व बढाउँदै छ । असमान शिक्षा दिएर समान प्रतिस्पर्धामा गराउनु राज्यको सर्वाधिक ठूलो त्रुटी हो ।
८२ वर्षे इतिहास बोकेको एसएलसीको नतिजा कहिल्यै डिष्ट्रिङ्सन प्रतिशतमा उक्लिन सकेन । आधा विद्यार्थी परीक्षा दिएर पनि फेल नै भए । अङ्गे्रजीले पसिना र हिसाबले पिसाब निकालेका विद्यार्थी एसएलसी पास नभएकै कारण हलो जोत्दा जोत्दै दाँत फुत्केर थोते भइसकेका छन् र आफ्ना सन्तानलाई पढ, पढ, पढ …भनिरहेका छन् । राणाकालीन समय वि.सं. १९९८ सालमा सबैभन्दा बढी ७७.७८ प्रतिशत र पञ्चायती याममा २०३८ सालमा सबैभन्दा कम १६.६८ प्रतिशत परीक्षार्थी मात्रै पास भएका थिए । औसतमा विषयगत नम्बर हेर्दा अङ्ग्रेजीमा ३३.२४ र सामाजिकमा ४८.०४ प्रतिशत देखिन्छ ।
नीतिगत रूपमा हाम्रो शिक्षा प्रणाली द्वैध चरित्रको छ । एउटै मुलुकमा एउटै पुस्तालाई दुई खाले शिक्षा दिएको छ । हुनेखानेहरुका लागि सुकिलो शिक्षा र हुँदाखानेहरुका लागि धमिलो शिक्षा । यसले आफ्नै भूमिमा आफ्नै समवयीसँग द्वन्द्व बढाउँदै छ । असमान शिक्षा दिएर समान प्रतिस्पर्धामा गराउनु राज्यको सर्वाधिक ठूलो त्रुटी हो । ‘हाम्रा हास्यास्पद शिक्षालयहरुलाई म नागरिक संस्था मान्दिनँ, न त वेकारको ढाँचा पारिएको रवाफिलो शिक्षालाई नै यस अन्तर्गत राख्न सक्छु । किनभने एकैपटक दुइतिर मुख फर्किएको शिक्षाबाट कुनै लाभ प्राप्त हुँदैन । अप्राकृतिक शिक्षा प्रणालीका कारण हाम्रा शिक्षण संस्थाहरूमुर्खता र वैपरित्यका थुप्रो भएका छन् । ’ जिन ज्याक रुसोले आफ्नो बहुचर्चित पुस्तक ‘एमिल’मा यी बाक्यहरू शिक्षाका नाममा खर्चिसकेका छन् । सरकारले यो पाठ पढेर कहिले चेतनाको ढोका खोल्ला ?
देशको समृद्धिका लागि शिक्षा अपरीहार्य तत्व हो । शैक्षिक क्षेत्र सुधारका लागि सरकार ठूलो लगानी गरेको छ । दक्ष जनशक्ति निर्माणका लागि माध्यमिक शिक्षा पहिलो पाइला हो । यसलाई गुणस्तरीय बनाउन सरकारले गृहकार्य गर्नुपर्छ । परीक्षा केवल कुनै विषयवस्तुमा विद्यार्थीको निपूर्णता माफन गर्ने एक माध्यम मात्रै हो । औपचारिक पढाईको सामान्य प्रक्रिया हो । परीक्षालाई हाउगुजी बनाउने खेल शिक्षाका व्यापारीले नै गरेका छन् । यो चक्र पूरा गरेपछि पनि जीवनमा सयौँ परीक्षा आउँछन् जान्छन् भनेर बुझाउन आवश्यक छ । परीक्षाले मात्रै राम्रो जनशक्ति उत्पादन हुँदैन भन्ने सत्यलाई पढाइले नै पुष्टि गर्नुपर्छ ।