काठमाडौ/
नेपालमा बैंकमार्फत हुने कारोबार (सेटलमेन्ट) उच्च मात्रामा बढेको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको वैशाखमा यस्तो सेटलमेन्ट ४० प्रतिशतले बढेको हो ।
त्यति मात्रै होइन, अर्थतन्त्रमा चलनचल्तीमा रहेको नगद नै अर्थात् नगद सर्कुलेसनसमेत गत वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको छ । बैंकमार्फत हुने भुक्तानी र नगद सर्कुलेसन दुवै बढ्नु भनेको अर्थतन्त्र चलायमान हुँदै गएको संकेत भएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्।
आर्थिक वर्ष (आव) २०७८/७९ मा उच्च आर्थिक गतिविधि हुँदा औपचारिक आर्थिक कारोबार (बैंकमार्फत हुने सेटलमेन्ट) पनि उच्च थियो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको तथ्यांक हर्ने हो भने २०७९ वैशाखमा ५३ खर्ब १८ अर्बको आर्थिक कारोबार भएको थियो । सोही आवको अन्तिम महिना असारमा औपचारिक माध्यमबाट मात्रै ६२ खर्ब २३ अर्बको कारोबार भएको थियो ।
गत आर्थिक वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलतासँगै औपचारिक आर्थिक कारोबार समेत घट्दै गएको थियो । तर, चालु आर्थिक वर्षको पछिल्लो केही महिना यता भने औपचारिक आर्थिक कारोबारमा सुधार देखिन लागेका छ ।
गत आव २०७९/८० को वैशाखमा औपचारिक माध्यमबाट हुने आर्थिक कारोबार (बैंकिङ सेटलमेन्ट) ३८ खर्ब ६४ अर्बमा सीमित भएको थियो ।
चालु आवको पछिल्लो चार महिनाको तथ्यांक हेर्दा हरेक महिना वित्तीय प्रणालीमार्फत हुने आर्थिक कारोबार बढ्दै गएको छ । चालु आवको माघमा ४५ खर्ब ४ अर्बको आर्थिक कारोबार हुँदा फागुनमा ५१ खर्ब ६८ अर्ब र चैतमा ५२ खर्ब ८२ अर्बको कारोबार भएको देखिन्छ । वैशाखमा अझै बढेर ५४ खर्ब ४८ अर्बको कुल कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
गत आवको वैशाखमा बैंकिङ सेटलमेन्ट मार्फत भएको आर्थिक कारोबार ३८ खर्ब ८२ अर्ब मात्रै रहेको चालु आर्थिक वर्षमा वैशाखामा ४० प्रतिशतभन्दा माथिले वृद्धि भएको हो ।
औपचारिक बैंकिङ प्रणालीमार्फत हुने कारोबार मात्रै होइन, नगद कारोबार समेत बढेको राष्ट्र बैंकको नगद सर्कुलेसन तथ्यांकले देखाउँछ । २०७९ असारमा चलनचल्तीमा रहेको नोट ६ खर्ब १२ अर्ब मात्रै रहेको थियो । २०८० असारमा चलन चल्तीमा रहेको नोट ६ खर्ब २६ अर्ब रहेकोमा चालु आवको वैशाखमा त्यो बढ्दै गएर ६ खर्ब ८० अर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ चालु आर्थिक वर्षमा बैंकिङ सेटलमेन्ट र नगद सर्कुलेस बढ्दै जाँदा त्यसले आर्थिक कारोबार बढाएको बताउँछन् ।