सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखराको प्रचार गर्दै फर्कियो टेवान टोली

थाइल्याण्ड, सिंगापुर र मलेसिया पुगेको टेवानले पोखराको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरि फर्किएको हो ।

पोखरा /

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको प्रचार गर्दै विदेश यात्राबाट फर्किएको छ। थाइल्याण्ड, सिंगापुर र मलेसिया पुगेको टेवानले पोखराको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरि फर्किएको हो ।

पोखरा पर्यटनको राजधानी घोषणा भएपछि स्वदेशसँग विदेशमा पनि पोखराको प्रवद्र्धन गरिनुपर्ने आवश्यकता रहेकाले कार्यक्रम गरिएको टेवानका अध्यक्ष कमला गिरिले बताइन् । उनले यात्राले पोखराको प्रचार गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा पर्यटन व्यवसायी महिलाका लागि व्यवसायिक साझेदारीका लागि बाटो पनि खुलेको सुनाइन् । थाइल्याण्डको बैंकक स्थित नेपाली राजदूतावासमा भेटघाट तथा पोखराको पर्यटनमाथि अन्तरक्रिया गरिएको थियो ।

IVF Big

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरासँगको आफ्नो साइनोबारे खुलाउँदै पोखराले आफ्नो मौलिकतालाई ध्यान दिनुपर्ने बताए। उनले महिलामात्रै रहेको संस्थाले नेतृत्वले विदेशमा पोखराको प्रचार गर्न हिड्नु सराहनीय रहेको सुनाए ।

मलेसियामा रहेको टुर अपरेटरहरुसँगको छलफलमा पोखरा मलेसियन पर्यटकका लागि उपयुक्त गन्तव्य हुने निष्कर्ष थियो । मलेसियन पर्यटक लक्षित प्याकेजको व्यवस्था हुनुपर्नेमा टुर अपरेटरहरु जोड दिएका थिए । टेवान टोलीले क्यालालम्पूरमा रहेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग पनि भेटघाट गरेको थियो । राजदूत बरालले पोखराको प्रचारात्मक कामका लागि सहयोग गर्ने बताएका थिए ।

दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ स्थापित टेवानले स्थानीय तथा प्रदेश स्तरमा पोखराको प्रवद्र्धनात्मक कार्यक्रमका साथै महिला उद्यमशिलतासम्बन्धी गतिविधि गर्दै आएको छ । यसपटक विदेशमा पनि पोखराको प्रचारात्मक कार्यक्रम गर्ने उद्धेश्य लिएर थाइल्याण्ड, सिंगापुर र मलेसिया यात्रा गरिएको अध्यक्ष गिरिले बताइन् ।

Leave A Reply

Your email address will not be published.