हिराबहादुर कार्की /
विचार…
नेपाली राजनीतिको आकाश कहिल्यै छर्लङ्ग छैन, सायद हुँदैन पनि । हिजो पनि कालो बादल मडारिएकै थियो, आज पनि छ । हरक्षण उलटपुलटको सम्भावना नै नेपाली राजनीतिको रक्तसञ्चार हो । एकदिन आँधी आयो, सामाजिक योद्धाहरू मैदानमा उत्रिए । विशाल जनसागर सडकमा उल्र्यो । लोकले अनेक आँधी पचायो, वेग निल्यो र रगत छाद्यो । लोकको बलिदानीले एक खाले रेस्लरहरू जन्मायो ।
जन्मदै अनेक रोग लिएर जन्मन्छन् लोकको बलिदानीले जन्माएका राजनीतिक रेस्लरहरू । महत्वकाङ्क्षाका हिउँले खाएका खुट्टा, आर्थिक मोहले गानो फुत्किएर फुलेको पेट, बेइमानीको नशाले खलबल धमनी, स्वार्थको मोतिविन्दु जस्ता अनेक जटिल रोग लिएर जन्मे । जन्मँदै रोगी जन्मेपछि उपचार निकै निराशाजनक हुन्छ । कहिलेकाहीँ चमत्कार हुन्छ । त्यो चमत्कार हाम्रो राजनीतिमा कहिल्यै भएन । र त्यस्तो चमत्कार भएन भने यस्तै रोगी रेस्लरहरूले खेल्ने रेस्लिङ्गका शृङ्खला नियमित चल्छन्, र लोक पनि रोगी हुन्छ । मुलुकले उही पूरानै नयाँ प्रधानमन्त्री पाएको छ र आज लोक बिरामी छ ।
रोगी रेस्लरहरूका धमनी लोकको रगतले सिञ्चन गरेपछि सगरमाथासम्म चुलिन्छन् तिनै रोगीका खिचातानी र लुछाचुँडी । लोककल्याण, राष्ट्रकल्याण र सर्वपक्षीय हितका खातिर स्वस्थजनले आफ्ना अङ्गप्रत्यङग रोगी शासकहरूलाई चढाए । ती स्वस्थजनको रगतले भरपुर मलजल गर्छ शासकहरूको रोग फस्टाउन । रोग–बेइमानी, लोभलालच, लुछाचुँडी । ओली सरकार बनाएर काँग्रेसले लिएको फाइदा काँग्रेस नै जानोस् । लोकलाई थाहा छैन, देउवा कसरी मुस्कुराउन सकिरहेका छन् ।
रगत जो बग्यो सर्वपक्षीय रूपमा आमसमुदायको कल्याण र विधिको शासनको स्वप्नील राजमार्ग पहिल्याउन पक्कै अपवित्र र अशुद्ध थिएन । नक्शाहरू कोरिए राजमार्गहरूका तर राष्ट्रहितको आगोले रेस्लरहरूलाई चिसो लाग्यो, जनहितका नक्साहरू, तिनले लसुन पोलेर खाए । हो यहाँ, अमृतले मान्छे मारेको छ, भकाभक् विषहरू जन्माएको छ । त्यो बलिदान अमृत भन्दा बढ्ता थियो, ती बलिदानहरू जसलाई इतिहासले यस देशको ‘नयाँ राजमार्ग’ लेख्यो रोगी टाउकाहरूले लिस्नो बनाए, आर्थिक आरोहहरूका सिँढी बनाएर थन्काए । भन्नै पर्छ, इमान्दारीले यी टाउकाहरूको रक्तचाँप बढाउँछ, बेइमानी नै यिनको नियमित योग हो । त्यसैले त आज हरेक सांसदहरूको रक्तचाँप बढेको छ ।
लोक सधैँ परलोकमा छ । अर्थात् हामी नेपाली जनता लगभग मरेतुल्य छौं । धोकाधडीको राजनीतिलाई अनन्त आयु दिएर यहाँको आर्थिक, सामाजिक र भौतिक विकास, विकासका उत्साहहरू, उद्यमीका सपनाहरू, आफ्नै म्यान्डेटहरू मेट्दै छौं । कहिले शक्ति बेचेर पैसा, कहिले पैसा बेचेर शक्ति । यहाँ शक्ति र पैसा दुवै किन्नेहरू छन् । यहाँ शक्ति र पैसामा विक्नेहरू छन् ।
राजनीति भनेको शक्तिदेखि सत्तासम्म र अनन्य स्वार्थहरूका लागि सत्ता जेनतेन अनन्तसम्म धानिरहनुको यात्रा बाहेक केही होइन । कम्तिमा आजकालको राजनीतिक घटनाक्रमले यस्तै बुझाउँछ । मिसन बालुवाटारबाहेक अर्थोक केही होइन । राजनीतिको असल सुरूवात सत्ता प्राप्तिपछाडि हुन्छ । धान्नुको विषयले होइन, कति सम्मानका साथ र कति नैतिक जिम्मेवारीका साथ सञ्चालन गर्ने खुबीले निर्धारित गर्दछ असल वा खराब सुरूवातको । बुझेका छन्, यी सबै विज्ञहरू नै हुन् । विज्ञ नै हुन् र त धोका दिन जानेका छन्, प्रजातन्त्रको मृगौला झिक्न सिपालु छन् । विज्ञ नै हुन् र त अस्मिता लुट्ने प्रविीध जानेका छन् । जानकार छन् यी टाउकाहरू र त किन्न जानेका छन्, बेच्न जानेका छन्, बेचिन जानेका छन् । यिनीहरू नैतिक मूल्य र मान्यताको, जनादेशको र जनहितका कल्याणकारी प्रयासहरूको पटक–पटक प्लास्टिक सर्जरी गर्दछन् र लुकाउने लुकाउँछन्, देखाउने देखाउँछन् । यिनका आँखासामु संसारका ऐतिहासिक घटनाक्रमहरू ओझेल परेका छैनन् होला, सायद । तर यी टाउकाहरूलाई आनन्द अन्धो हुनुमै छ, अन्धो– पैसाको, शक्तिको, प्राप्तिको, भोगको ।
लोक सधैँ परलोकमा छ । अर्थात् हामी नेपाली जनता लगभग मरेतुल्य छौं । धोकाधडीको राजनीतिलाई अनन्त आयु दिएर यहाँको आर्थिक, सामाजिक र भौतिक विकास, विकासका उत्साहहरू, उद्यमीका सपनाहरू, आफ्नै म्यान्डेटहरू मेट्दै छौं । कहिले शक्ति बेचेर पैसा, कहिले पैसा बेचेर शक्ति । यहाँ शक्ति र पैसा दुवै किन्नेहरू छन् । यहाँ शक्ति र पैसामा विक्नेहरू छन् । शक्ति र पैसामा मनमस्तिष्कसहित सशरीर बेचिन लालायितहरू छन् । मानौं यहाँ एक खुद्रा पसल चलिरहेको छ एक युगदेखि जहाँ खरिद र बिक्रीबाहेक अन्य महत्वपूर्ण सामाजिक मूल्यमान्यताहरूको कुनै चासो छैन ।
देश त यसरी लुट्दैछन् मानौँ हामीले बिर्तामा रोगीहरूलाई यो देश दियौं । खासमा अधियाँ होला, तर उनीहरूले बिर्ता सरह गरिदिए । यहाँ संस्थागत स्वतन्त्रता छैन जसका कारण कुनै पनि संस्थामाथि आम मानिसको आस्था छैन । जसले हान्यो उसले जान्यो टाइपले राजनीति चलेको छ ।
यस्तै प्रतीत हुन्छ कि यहाँ हरकोही र हरेक चिज बिकाउ छ । हरेक संयन्त्र अधिकृतहरूको एक निश्चित मोल छ । भोक लाग्दा खाना खान पाउनुको स्वार्थ र वर्षौं वर्षका लागि सञ्चित गर्ने स्वार्थको डिग्री फरक–फरक हो । आफ्ना लागि साँच्नु र आफ्नो पुस्तौं–पुस्ताका लागि सञ्चित गर्ने स्वार्थका पनि डिगी्रहरू फरक–फरक छन् । जुन दिन उम्लेला, त्यही दिन ज्ञात होला कुन डिग्रीमा उम्लन सक्छ ।
स्रोत, क्षमता, विवेक छ वा छैन तर हरेकलाई प्रथम हुनुपरेको छ सो प्रतिष्पर्धा छ । राजनीतिक प्रतिष्पर्धाभन्दा सधैँ कोशौँ दूर रहने हामीहरू माओवादी, एमाले र काँग्रेसलगायतका रोगी टाउकाहरूबिचको प्रतिष्पर्धाका दर्शक हौँ । एक दर्शक, जसको भावना, निर्देशन र प्रतिक्रियाले सिन्को भाँच्दैन, रन्को दिँदैन । चुनाव हुन्छ, हामी सहर्ष मतदान गर्छौं । हाम्रो नियती मतदान गर्नु हो । सडकमा उर्लन्छँैं, परिवर्तन हुन्छ तर नयाँ परिवर्तनको प्रकृति र प्रवृत्ति परिवर्तन हुँदैन । हामी घर फर्कन्छौँ । हामीले बिर्तास्वरूप ती रोगीहरूलाई हरचिज सुम्पिदिएका छौं ।
देश त यसरी लुट्दैछन् मानौँ हामीले बिर्तामा रोगीहरूलाई यो देश दियौं । खासमा अधियाँ होला, तर उनीहरूले बिर्ता सरह गरिदिए । यहाँ संस्थागत स्वतन्त्रता छैन जसका कारण कुनै पनि संस्थामाथि आम मानिसको आस्था छैन । जसले हान्यो उसले जान्यो टाइपले राजनीति चलेको छ । जसको न्यायाधीश यसैलाई न्याय । कानुनको सम्मान वा बलात्कार कसरी गरिन्छ जगजाहेर छ । कुनैपनि संस्थाको जनसमुदायसँग नैतिक सम्बन्ध पतन हुँदै आइरहेको छ । नागरिक तथा राष्ट्रहितका पक्षमा वकालत गर्नुपर्ने संघसंस्थाका हाकिमहरू नुनको सोझोमा कर्तव्यनिष्ठ छन् ।
अख्तियारप्राप्त संघसंस्थाहरूलाई कहिलेकाहीँ मात्रै काउकुती लाग्छ । सुदूर कल्पनामा बाँधिएर, स्वार्थको भुमरीमा फसेर, आफ्ना निजी इच्छा–आकाङ्क्षा प्राप्तिमा दबिएर, कृपामा कृतज्ञ भएर राजनीतिले अभिप्रेरित भएर वा जे सुकै गरेर यहाँ अनेक फैसलाहरू गरिन्छन्, लोकलाई विषको गन्ध आउँछ तर पचाउँछ । हे लोक, अब विष पचाउन बन्द गर !