काठमाडौं /
प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन {काभा} महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न हुने भएका छन्।
उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो। नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् {राखेप}को कभर्डहलमा हुनेछ।
उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता भारतले सेमिफाइनलमा श्रीलंकालाई ३-० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो।
लिगचरणमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको थियो। यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ। भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ।