सम्पादकीय/
झुटमुटभित्र लुक्नु–लुकाउनु एउटा कुरा, झुटमुटमै झुत्ती खेलिरहनु अर्को कुरा । प्राणभन्दा प्यारो देशलाई सङ्कटले गाँजेको छ, वर्तमान र भविष्य दुवै हताश छ । देशसँगै देशवासी पनि निराश छ । यो आजको तीतो यथार्थ हो । चुनौती अनेक छन्, समस्या बग्रेल्ती छन् । ती मध्ये कतिपयको नाम दिन सकिन्छ, धेरैको न नाम दिन सकिन्छ न त पहिचान गर्न सकिन्छ । एउटा चुनौती वा समस्याको नाम पलायनवाद हो ।
पलायनवाद त्यही प्राणघातक भाइरस हो जसले प्राणभन्दा प्यारो देशको प्राण लिइरहेको छ, जसबाट राजनीति, समाज, नागरिक हरकोही सङक्रमित छ । त्यसैले यो देश आज रोगशोकमा छ । सरकारलाई नागरिकका समस्याबाट, राज्यका चुनौतीबाट पन्छिने रोग लागेको छ । सुध्रिनुबाट उम्कने रोगले समाज ग्रस्त छ । नागरिकलाई जिन्दगीको सङ्घर्षबाट भाग्ने रोगले खेदेको छ । यो भाइरस कसले जन्मायो, कसरी जन्मियो ? स्पष्ट छ, राजनीतिले जन्मायो र राजनीतिले राजनीति नगरेर जन्मियो ।
सुन्दर भविष्यको आशमा वा कहालीलाग्दो भविष्यको त्रासमा युवापुस्ता देशबाट परदेसिदै छ । विगत तीन दशकदेखि परदेसिने क्रम बढ्दो रूपमा जारी छ । धेरैले देशको माया मारिसके, परदेश नै घरदेश बनाइसके, यता भएको जायज्यथा बेचेर उतै लगिसके । उनीहरू आउँदैनन्, देशले बोलाउँदैन ।
सुन्दर भविष्यको आशमा वा कहालीलाग्दो भविष्यको त्रासमा युवापुस्ता देशबाट परदेसिदै छ । विगत तीन दशकदेखि परदेसिने क्रम बढ्दो रूपमा जारी छ । धेरैले देशको माया मारिसके, परदेश नै घरदेश बनाइसके, यता भएको जायज्यथा बेचेर उतै लगिसके । उनीहरू आउँदैनन्, देशले बोलाउँदैन ।
देशमा भविष्य देख्न नसक्ने, देशका विभिन्न समस्याहरुसँग लड्न नखोज्ने, विद्यमान समस्याका समाधानलाई अलिकति पनि जिम्मेवारी नलिने पलायनधर्मी युवापुस्ता हुर्किएको छ । वर्तमान युवापुस्तासँग आशा, सपना, उद्देश्य, जोश सबै छ तर देशमा होइन परदेशमा छ । स्कुल, घर, समाज, संस्कार, सरकार, राजनीति कसैले पनि देशमै सपना देख्न सिकाएनन्÷सिकाउँदैनन् । नेताले सिकाउँछन् तर कामबाट होइन भाषणबाट ।
हरेक युवाको मनमा सबैभन्दा गरिब राष्ट्रको पङ्क्तिमा दक्षिण एसियाको पहिलो र विश्वको १७ औँ गरिब राष्ट्रको वास्तविक पहिचान बिझाउँछ । कसैले सपना कसरी देखोस् ? देशमै सुनिश्चित भविष्यको आश कसरी गरोस् ? भावी सन्तानको माया कसरी मारोस् ? यो अवस्थामा युवापुस्तालाई पलायन हुनबाट अहिले नै जोगाइहाल्न लगभग असम्भव छ ।
जबसम्म राजनीतिले राजनीति गर्दैन । युवाको आश पलाउँदैन । परदेश पलायन नै सफल, सहज जिन्दगीको एकमात्र मार्ग हो भन्ने मानसिकता जरो गाडेर बसिसकेको छ । यसलाई कुनै ऐरेगैरे नेताका गफ र अल्पकालीन एवम् स्टन्टबाजी जुक्तीले उखेलेर फ्याँक्न मुस्किल होइन असम्भव छ । करिब तीन दशकसम्म जारी रहेको युवापुस्ता पलायन यत्तिकै सजिलै रातारात रोकिँदैन ।
भर्खरै कक्षा १२ पास गरेका युवा पासपोर्ट विभागमा किन लामबद्ध छन् ? देशमा केही बाँकी छैन, जे छ विदेशमा छ भन्ने मान्यता जो घरघर पसेको छ ।
यसबाट देशलाई जनधनको मात्रै होइन देशलाई माया गर्ने मनको पनि क्षति भएको छ । यस क्षतिको क्षतिपूर्तिका लागि मात्रै कति मेहनत र समय लाग्ला ? परदेशमै घरजम सजाएका छोराछोरीलाई फिर्ता बोलाउने हैसियत बनाउन यस देशलाई कति मिहिनेत र समय लाग्ला ? परदेसिन खुट्टा उचालेर बसेका छोराछोरीलाई नजाऊ, यतै बस भन्ने सामथ्र्य निर्माण गर्न कति मेहनत र समय लाग्ला ? भर्खरै कक्षा १२ पास गरेका युवा पासपोर्ट विभागमा किन लामबद्ध छन् ? देशमा केही बाँकी छैन, जे छ विदेशमा छ भन्ने मान्यता जो घरघर पसेको छ ।
समग्र शैक्षिक प्रणालीका बेथिति, विकृति, विसङ्गति सच्याउन सकियो भने आजको युवापुस्तालाई परदेश पलायन हुनबाट रोक्न सकिन्छ भन्ने मान्यताको वकालत हुँदैछ जुन कोरा कल्पना मात्रै हो । परामर्श र प्रोत्साहनमार्फत् युवालाई यहि देशमा रमाउने बनाउन सकिन्छ भन्ने विषय पनि चर्चामा छ जुन नितान्त हावादारी गफभन्दा बढी केही होइन । वर्तमान यथार्थको संवेदनशीलता नबुझ्ने अबुझहरूले दिने गफ मात्रै हो । रोजगारका अवसरहरूको सिर्जना गरेर तिनलाई परदेसिन रोक्ने कुरा दिवास्वप्न बाहेक केही होइन । राज्यका संयन्त्रहरूमाथि भरोसा गर्न सकिने ग्यारेन्टी दिएर, निशुल्क शिक्षा–स्वास्थ्यको ग्यारेन्टी दिएर वा सुखी नेपाली समृद्ध नेपालको नारा दिएर रोक्न सकिने कुरा नेपाली राजनीति र नागरिक समाजले टाइम पास गर्न गर्ने गफ हुन् । अब यस्ता गफहरूको कुनै हैसियत छैन जसले खुट्टा उचालेर बसेको एउटा युवालाई टक्क रोकाउन सकोस् ।
नागरिकलाई उमेर, आर्थिक, शैक्षिक वा अन्य कुनै बहानामा पासपोर्टको अधिकारबाट बञ्चित राख्न सके सायद रोक्न सकिन्छ । तर त्यो समय कहालीलाग्दो हुनेछ, देश कानुनी नियन्त्रणबाट अनियन्त्रित हुनेछ ।कर्णधार नै नभएको मुलुकमा भविष्यको कर्णधार ठट्टा सिवाय केही होइन । पलायनधर्मी युवापुस्ताको काँधमा भविष्यको नासो सुम्पन सकिँदैन । चरम गरिब राष्ट्रको पहिचान नबदली केही बदलिँदैन । न समाज न युवाको मानसिकता ।