काठमाडौं/
बझाङ र जाजरकोटमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बझाङको बुंगल नगरपालिका(१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर गएराति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो ।
पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो । साथै घरभित्र सुतिरहेका बिर बहादुर समेत ६ जना सामान्य घाइते भएका छन् ।
यसैगरी जाजरकोटको नलगाड नगरपालिका(२ डाँडागाउँ बस्ने लाल बहादुर परियारको अस्थाई टहरो सोमबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर लाल बहादुर, उनकी श्रीमती ३५ वर्षीया मनिषा बिक र छोरा शुभम परियारको मृत्यु भएको हो । उक्त टहरो पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।