मुगु/
हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रूपमा फुजी स्याउको उत्पादन शुरू भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो । फुजी स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताउनुभयो ।
उहाँका अनुसार बिरुवा लगाएको एक वर्षपछि स्याउका बिरुवाले स्याउ उत्पादन दिन थाले पनि दुई वर्षदेखि दिन थालेको स्याउ गुणस्तरीय हुन्छ । परम्परागत जातको स्याउका बिरुवाप्रति हेक्टर तीन सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रतिहेक्टर तीन हजार वटासम्म लगाउन मिल्छ । यस वर्षदेखि हरेक प्रतिबोटमा पाँचदेखि आठ किलोग्रामसम्म स्याउ उत्पादन भएको छ ।
परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिने गरेको इकाइ प्रमुख मल्लले बताउनुभयो।