गण्डकी : तपाईँलाई सबैभन्दा बढी मन पर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भने, ‘म त्यही गीतको खोजीमा छु ।’ घुमाउरो जवाफ फर्काउँदै उनले गीत लेखनप्रतिको आफ्नो असीम प्रेम र तृष्णालाई उजागर गरे । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उनको बुझाइ छ ।
गीत लेखनमा दुई दशक बिताएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाए । उनका गीतका मुख्य भाव भूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् ।
‘मेरा अधिकांश गीत प्रेम गीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्’, उनले भने, ‘माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।’ पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र संगीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताए ।
बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहेका सुवेदीले संगीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताए । ‘गीत पनि संगीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु’, उनले भने, ‘प्रेम गीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।’
पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झैँ उनी प्रेमगीतका भक्त हुन्, भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीत लेखनमा आफूलाई समर्पित गरेको बताए । ‘सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन’, उनले भने ।
सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोक संगीतलाई दिइसकेका छन् । केही गीतमा उनको स्वर र संगीतसमेत छ । स्नातक पढाइका लागि वि.सं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झरेका उनले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उनका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए ।
वि.सं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा…’ उनको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ । ‘गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो’, उनले विगत कोट्याए, ‘सिर्जना प्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।’ उनले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाए ।
सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिन्थे । वि.सं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उनी काठमाडौँ पुगे । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाए । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उनको भनाइ छ ।
नेपाली संगीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा…’ जस्तो चर्चित गीत लेखे । बसन्त थापाको संगीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उनलाई थप उचाइमा पु¥यायो ।
सुवेदी त्यो बेला कीर्तिपुरमा बसेर पढ्थे । एक दिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उनले बताए । ‘टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा…’ फुर्यो’, गीतको रचनाबारे उनले भने, ‘हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै संगीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उनले धुन तयार गरेर मलाई पठाउनुभयो ।’
संगीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पारेका सुवेदीले बताए । त्यो बेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गरेका थिए । ‘कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो’, उनले भने । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिएकी छन् । भृकुटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चल दृश्य छायाङ्कलन गरिएको सुवेदीले सम्झिए ।
त्यसअघि सुवेदीले लेखे ‘जोगीको भेषैमा…’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको…’, ‘शीतल दिने पिपल स्वामी छ…’, ‘अझै कन्य हो…’, ‘बर्बर आँसु झर्दा खेरीमा..’ जस्ता गीतले उनलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाएका छन् । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उनका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उनी गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिन्छन् ।
‘थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ’, सुवेदीले भने । गीत लेखेरै आफू बाँचेको उनले बताए । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीत लेखनलाई आफूले मूलः रुपमा अपनाएको उनको भनाइ छ ।
संगीतमय पर्वत–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डोर्याएको सुवेदीले बताए । ‘न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा संगीतको मुर्छन्ना भेटिन्छ’, उनले भने, ‘सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।’
आफूमा गीतसंगीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । ‘गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो’, सुवेदीले भने, ‘रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।’ पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उनले अनुभव सुनाए ।
चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र संगीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उनले आफ्नो प्रेरणाको स्रोत मान्छन् । सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा संगीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उनले कहिल्यै नबिर्सने बताए ।
गायक क्षेत्री अमेरिकामा छन् भने संगीतकार थापासँग उनको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र संगीत भरेका गीत ‘ऐना सिसाको..’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदै छन् ।
उक्त गीतको चल दृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिए । आफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन…’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उनले सुनाए । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डोर्याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याएका छन् । उनको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ ।
सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘विन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसकेका छन् । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताए । ‘बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ’, उनले कवि तीर्थ श्रेष्ठको कविता सम्झिए–
हामीले लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरू
एकछिनमा हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
हामी रहँदारहँदै
नरहने हाम्रा नामहरू
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरू !