पोखरा /
सहारा क्लब पोखराको २६ औं वार्षिकोत्सव एवं साधारणसभा सम्पन्न भएको छ । पोखरा १७, दोबिल्लास्थित सहारा फुटबल एकेडेमीमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
मन्त्री थापाले सहाराको कार्य अनुकरणीय रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर जानुपर्ने सुझाव दिए । सो अवसरमा यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भए । उनलाई प्रमुख अतिथि मन्त्री थापाले नगद २५ हजार राशिसहित उक्त पुरस्कार हस्तान्तरण गरे । शर्मा नेपाली टेलिभिजनका कास्की संवाददाता हुन् ।
सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सम्मानित व्यक्तित्व परशुराम शर्मा लगायतले बोलेका थिए । पोखरालाई कार्यक्षेत्र बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशीलमध्ये एक जना पत्रकारलाई क्लबले सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि, सो पुरस्कारबाट करिब डेढ दर्जन पत्रकार पुरस्कृत भइसकेका छन् । यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लीलबहादुर थापा सम्मानित भए । क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका थापा हाल सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य छन् ।
कार्यक्रममा संस्थाका महासचिव रामजीप्रसाद अधिकारीले महासचिवको र कोषाध्यक्ष बिनु रानाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । क्लबले कक्षा १२ देखि स्नानक उत्तीर्ण सदस्यका परिवार तथा परिवाजनलाई प्रशंसासहित सम्मान गरेको छ । क्लबद्वारा संचालित फुटबल एकेडेमीको अक्षयकोषमा अमेरिका बस्ने नेपाली समुदायबाट पनि सहयोग प्राप्त भएको छ । क्लबका मानार्थ सदस्य नारायण कार्कीले २ लाख १७ हजार ९ सय रुपैयाँ क्लब अध्यक्ष बराललाई हस्तान्तरण गरे । अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्कमा बसोबास गर्ने नेपाली समुदायका २३ जनाले उक्त रकम संकलन गरेको जानकारी कार्कीले दिए । हालै अमेरिका भ्रमणबाट फर्केका अग्रज पत्रकार कार्कीका अनुसार पोखरा लगायत नेपालका विभिन्न भागबाट ओभरल्याण्ड पार्कमा रहेका नेपालीले २० देखि २५० डलरसम्म सहयोग गरेका थिए ।
उक्त अक्षयकोषमा हालसम्म ३ करोड १७ लाख संकलन भइसकेको क्लब महासचिव अधिकारीले जानकारी दिए । सोही समारोहबीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा क्लबले ५१ हजार सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रमुख अतिथि मन्त्री थापा र क्लब अध्यक्ष केशवराज बरालले मञ्च अध्यक्ष दीननाथ बराललाई संयुक्तरुपमा हस्तान्तरण गरे । कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र संचालन महासचिव रामजीप्रसाद अधिकारीले गरेका थिए ।