सुचना, समाचार र मनोरन्जन
Sarangi

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ/

सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले आज लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतको अनुमतिपछि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी कास्की लैजाने प्रहरीको तयारी छ ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु अर्थात् जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । राई अहिले पनि फरार छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी भने गएको असोज ६ गते पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाण्डौको शङ्खमूलबाट पक्राउ गरी कास्की लगिएको थियो । जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले तेस्रो पटक म्याद थपको अनुमति दिएको छ । अदालतले असोज ७ गते पहिलो पटक पाँच दिनको म्याद थप गरेको थियो । त्यसपछि सात दिनको म्याद थप गरेको थियो । आज तेस्रो पटक गएको १७ गतेदेखि लागू हुने गरी २० दिनको म्याद थप गरिएको हो ।

Leave A Reply

Your email address will not be published.