सुचना, समाचार र मनोरन्जन
Sarangi

देशभर चिसो बढ्यो, आज देशका केही ठाउँमा बदली र वर्षा

काठमाण्डाै/

देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ ।

बितेका चार/पाँच दिनदेखि काठमाण्डौको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । ‘पोस्ट मनसुन’ को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको उहाँले बताउनुभयो । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो झनै बढेको माैसमविद् लामिछानेकाे भनाइ छ । अब चिसो बढ्दै जाने भएकोले चिसोबाट जोगिने उपयाहरूको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।

यसैबीच अहिले कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.