काठमाडौं :
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘डोरी’ निर्माण हनुे भएको छ। दीपावलीको छेको पारेर फिल्म निर्माणको घोषणा गरिएको हो।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हो।
निर्देशक लामाले यस फिल्मले नेपाली फिल्म क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताए।
‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए। उनका अनुसार फिल्ममा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।
फिल्ममा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। यस फिल्ममा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही फिल्ममार्फत अभिनयमा डेब्यू गर्दैछन्।
फिल्मको लेखन निर्देशक अरुण लामा नै गरेका छन् भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्। यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नेछन्।
‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।