सुचना, समाचार र मनोरन्जन

अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवारले मतदाताहरुलाई प्रचारको समापन सन्देशहरु पठाउँदै

एजेन्सी/
प्रचारको अन्तिम दिन आज मतदाताहरुलाई समापन सन्देशहरु पठाइरहेका छन् ।

भोलि हुन लागेको चुनावको अन्तिम दिन आज रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतादातहरुलाई सन्देश पठाइरहेका बीबीसीले जनाएको छ।

अहिले उनीहरु प्रमुख राज्यहरुमा अभियान सञ्चालन गर्न व्यस्त छन् । ह्यारिसले आज पेन्सिल्भेनियामा चुनाव प्रचार गर्ने र ट्रम्प उत्तरी क्यारोलिना, पेन्सिलभेनिया र मिशिगनमा जाने बीबीसीको खबरमा उल्लेख छ ।

बीबीसीले आफ्नो लेखमा अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमै यस पटक दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको उल्लेख गरेको छ । पछिल्ला चुनावी सर्वेक्षणमा कमलाले ४८ र ट्रम्पले ४७ प्रतिशत मत पाउने देखिएको छ । पाँच प्रतिशत मतदाता अनिर्णित छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचकमण्डलमा आधारित छ । अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा कुल ५ सय ३८ इलेक्टोरल तय गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २ सय ७० मत आवश्यक पर्छ । ५० राज्यमध्ये धेरैजसो राज्यले परम्परागत रूपमा राष्ट्रपतीय चुनावमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन् । सात वटा राज्यमा दुई जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ ।

यस्तै भोलि नै हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् ।

Leave A Reply

Your email address will not be published.