सम्पादकीय/
नेपालको खेलकुद क्षेत्रमा एउटा नयाँ र गौरवशाली अध्याय थपिएको छ । नेपाली महिला यु–१९ क्रिकेट टोलीले इतिहास रच्दै विश्वकपमा स्थान बनाएको सुखद समाचारले खेल प्रेमी र आमजनमानसमा ऊर्जा र उत्साह भरिदिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित दि सेभेन रङ्गशालामा भएको खेलमा यूएईलाई पराजित गर्दै नेपाली महिला टोलीले यो सफलता हासिल गरेको हो ।
नेपालले २०२५ मा मलेसियामा आयोजना हुने यु–१९ महिला विश्वकपमा सहभागिता जनाउने अवसर मात्र पाएको छैन, यु–१९ महिला एसिया कप खेल्न पनि योग्य बनेको छ । यो सफलता सधैं चुनौतीपूर्ण यात्रा र कठिन परिश्रमको परिणाम हो । प्रारम्भिक खेलहरूमा चुनौतीहरू सामना गर्दै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नु र ८६ रनको लक्ष्यलाई सहज रूपमा पार गर्नुले नेपाली महिला क्रिकेटको सम्भावना उजागर गरेको छ । तर यस सफलताको आधारलाई दिगो बनाउन राज्यको भूमिका र लगानी अपरिहार्य छ ।
खेलकुद कुनै पनि राष्ट्रको पहिचान र आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण आधार हो । नेपालका लागि क्रिकेट एक उदाउँदो खेलमात्र नभई विश्वमञ्चमा देशको साख बढाउने सशक्त माध्यम बनिरहेको छ । नेपाली पुरुष टोलीले विगतमा प्राप्त गरेको सफलता पछ्याउँदै महिला टोलीले पनि आफ्नो क्षमताको परिचय गराउँदै राष्ट्रिय गौरवलाई उच्च बनाएको छ । यस प्रकारका उपलब्धिले महिला सशक्तीकरणको सन्देश पनि प्रवाह गर्छ ।
नेपालको क्रिकेट यात्रा रोचक र प्रेरणादायी भए तापनि यसले सामना गर्नुपर्ने चुनौतीहरू गम्भीर छन् । खेल पूर्वाधारको अभाव, आर्थिक स्रोतहरूको असुरक्षा र खेलाडीहरूको करिअर सुनिश्चित गर्न नसक्नुले नेपाली क्रिकेटको विकासलाई अवरुद्ध गर्दै आएको छ ।
देशभर खेल क्षेत्रको विस्तार भए पनि क्रिकेटको लागि आवश्यक रङ्गशालाहरूको निर्माण कार्य विवादास्पद छ । ठूला प्रतियोगिताहरू आयोजना गर्न सक्षम अन्तर्राष्ट्रिय स्तरका मैदानहरू अझै निर्माण हुन सकेका छैनन् । कमजोर अर्थतन्त्रका कारण खेलाडीहरूलाई दीर्घकालीन आर्थिक सुनिश्चितता दिन नसक्नुले युवा प्रतिभाहरूलाई अन्य विकल्पतर्फ धकेल्ने खतरा छ ।
खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट र सुदृढ नीतिहरूको खाँचो छ । निजी क्षेत्रको सहभागिता अभावमा खेल क्षेत्रको वित्तीय स्थितिमा सुधार ल्याउन गाह्रो परेको छ । नेपाली महिला यु–१९ टोलीको यो सफलता प्रेरणादायी छ । यो जितले खेलप्रति युवापुस्तामा उत्साह जगाउनुका साथै सरकारी निकाय, निजी क्षेत्र र समग्र समाजलाई खेलकुदको विकासमा सहयोग पुर्याउन थप उत्प्रेरणा दिनेछ । भविष्यमा, खेलकुदलाई मात्र नभई समग्र राष्ट्रलाई समृद्ध बनाउने आधारका रूपमा विकास गर्न सकिन्छ । यसको लागि आवश्यक छ भौतिक संरचना निर्माण, खेलाडीको दीर्घकालीन सुरक्षाको ग्यारेन्टी र खेलकुदलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्ने राजनीतिक प्रतिबद्धता ।
राज्यले खेलकुदमा प्राथमिकता दिएको देखिए पनि कार्यान्वयनमा भने गम्भीर कमजोरी देखिन्छ । प्रतिबद्धताका घोषणा गरेर मात्र खेलकुदको विकास सम्भव छैन । खेलकुदले राष्ट्रिय पहिचान र आर्थिक समृद्धिमा योगदान गर्न सक्छ । महिला क्रिकेट टोलीको यो सफलता त्यसको प्रमाण हो । अब, राज्यले यसलाई दिगो बनाउने दिशामा ठोस कदम चाल्नुपर्छ ।
अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला निर्माण गर्नु, खेल सामग्रीको उपलब्धता सुनिश्चित गर्नु र खेलाडीहरूका लागि प्रशिक्षणको व्यवस्था गर्नु प्राथमिकतामा पर्नुपर्छ । खेलाडीहरूको आर्थिक भविष्य सुनिश्चित गर्नका लागि बीमा योजना, मासिक भत्ता र पुरस्कार प्रणालीको कार्यान्वयन गर्नु अपरिहार्य छ । महिला खेलाडीहरूलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराई अनुभव वृद्धि गरिनुपर्छ ।
महिला खेलाडीहरूको यो सफलता केवल प्रारम्भिक सङ्केत हो । राज्यले उचित पहल गर्न सकेमा, नेपाली खेलकुदले दिगो सफलता प्राप्त गर्नेछ । खेलाडीहरूले आफ्नो क्षमता र हुटहुटी देखाइसकेका छन् । अब उनीहरूको सफलतालाई दिगो बनाउन राज्यले साथ दिनुपर्छ । आर्थिक सुरक्षा, पूर्वाधारको विकास र रणनीतिक योजनाहरू कार्यान्वयनमा ल्याउन सके नेपाली खेलकुदको भविष्य उज्ज्वल बन्नेछ ।
नेपाली क्रिकेटको यो सफलता केवल खेलकुदको मात्र नभई राष्ट्रिय स्तरमा सम्भावनाहरूको सङ्केत हो । महिला क्रिकेट टोलीको यो उपलब्धिले खेलकुद क्षेत्रको समृद्धिको यात्रा सुरू गरेको छ । यथोचित लगानी र व्यवस्थापनको माध्यमबाट नेपालले खेलकुदमा मात्र नभई विश्वभर आफ्नो पहिचानलाई मजबुत बनाउन सक्छ ।