सुचना, समाचार र मनोरन्जन

किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं/

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्ने कार्ययोजना अघि बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति तथा वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिनुभएको हो । उहाँले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाई वितरण गरिसक्न आग्रह गर्नुभयो ।

मन्त्रालयका अनुसार यस वर्ष ५ लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्म २ लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ । यस्तै गएको वर्षको मौज्जादसमेत गरी २ लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा छ ।

अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेन्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानूनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.