सुचना, समाचार र मनोरन्जन

एआइटीमा सम्बोधन – मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यकः प्रधानमन्त्री

 

बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एशियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताएका छन्।

 

थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपालले आफ्नो तर्फबाट काम गरिरहेको बताए।

 

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहनासहितको खुशीभन्दा अर्को ठूलो कुरा नभएको धारणा व्यक्त गरे।

 

जलवायु परिवर्तनलगायत विश्वव्यापी रुपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वसमुदायसँग आह्वान पनि गरे।

 

नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआइटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे।

 

प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे।

 

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थामा बढी विदेशी विद्यार्थी अध्ययन गर्ने हिसाबले नेपाल चौथो स्थानमा रहेको र एआइटीसँगको सहकार्य आफूहरुको प्राथमिकतामा परेको बताए।

 

एआइटीमा अहिले १८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म १ हजार ७९५ नेपाली विद्यार्थीले अध्ययन पूरा गरेका छन्।

 

अहिले यस संस्थाको ‘बोर्ड अफ ट्रष्टी’मा ३ सदस्यसहित सातजना ‘फ्याकल्टी मेम्बर’ नेपाली रहेका छन्।

 

प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई सो संस्थाका ‘प्रेसिडेन्ट’ प्रा पाई ची लीसहितले स्वागत गरेका थिए।

 

थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्याण्ड भ्रमण गरेका हुन्।

 

प्रधानमन्त्री ओलीले आजै बिम्स्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम छ।

 

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक/विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

Leave A Reply

Your email address will not be published.