काठमाडौं/
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् ।
‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’
पूर्वराजा शाहले नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
‘अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन्,’ पूर्वराजा शाहले भनेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए।
‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा बाद हुँदैन वास्तविक प्रजातन्त्र जहाँ हुन्छ त्यहाँ राम्रो नराम्रो जनगुनासो वा गुनगान परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,उनले भनेका छन्,जुन जागरुकता पैदा भएको छ २०८२ सालमा त्यस अनुसारको परिणाम हासिल हुने विश्वास लिएका छौं ।’
उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरेका थिए ।
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले जारी गरेको १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनिएको थियो, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’