काठमाडौं/
नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि पूर्वराजासम्मले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ । नव वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँर्दै उनले आजको दिन नागरिकको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरे ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएकाछन ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताए ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ,‘राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’
देशमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
यसैगरी सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गर्नुभएको छ ।
रष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानून छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गरेका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना सन्देशमार्फत समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद् मनस्थिति नबनोस् भन्नेमा आफू सधैँ सचेत र संवेदनशील रहेको उल्लेख गरेका छन ।