सुचना, समाचार र मनोरन्जन

झुमा लिम्बूले भनेजस्तो काम गर्न कुनुपर्यो २५ वर्ष

काठमाडौं :

गायिका तथा संगीतकार झुमा लिम्बूले फिल्म ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन्। साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाई छ।

‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, फिल्म हो जार’,झुमा भन्छिन्,‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसै जारमा काम गरेँ।’

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाई छ। ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ। पूरै त चित्त बुझ्दो रहेनछ। अलिअलि चाहिँ चित्त बुझेको छ’,झुमा भन्छिन्, ‘जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ।’

फिल्म जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ। प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन्। लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन्। जसको फिल्म हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन्।

‘जार’मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन्। १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ। ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्। फिल्म ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ। फिल्म ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ। फिल्म ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.