सुचना, समाचार र मनोरन्जन

बाराही डुङ्गाघाटमा डुङ्गा दौड प्रतियोगिताको तयारी तीव्र

पोखरा,

जेठ १८ गते फेवातालमा हुने दोस्रो राष्ट्रिय खुल्ला डुङ्गा दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।  पोखराको पर्यटन पर्वद्धन र फेवातालाई विश्वमाझ चिनाउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डको आयोजना तथा फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापन रहनेछ । बाराही डुङ्गाघाटमा हुने खुल्ला महिला तथा पुरुष डुङ्गादौड प्रतियोगिताको लागि यहीँ जेठ १७ गतेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ । डुङ्गादौड विहान ८ बजे सुरु भएर ११ बजेसम्म संचालन हुनेछ ।

टिम दर्ताको काम भैरहेको र एक टिममा ३ जनासम्म सहभागी हुन सक्ने आयोजक नेपाल पर्यटन बोर्डका अध्यक्ष मणिराज लामिछानेले जानकारी दिए ।  प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले सहभागिता जनाउन सक्ने फेवा डुङ्गा समितिका अध्यक्ष बलराम गिरिले बताए । उक्त प्रतियोगिताले फेवातालको प्रचार–प्रसार, पोखराको पर्यटन प्रवद्धनका साथै पोखराको आकर्षणको केन्द्रविन्दु फेवातालको संरक्षणमा समेत महत्वपुर्ण हुने गिरिको भनाई छ । पर्यटनलाई खेलसंग जोड्ने र पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्ने कार्यक्रमको उदेश्य रहेको प्रतियोगिताका संयोजक बत्ति गुरुङले बताएका छन ।

प्रतियोगितामा पुरुषहरुको लागि ३ किलोमिटर (बाराहीघाट देखि लेक हाउस सम्म) र महिलाको लागि २ किलोमिटर (बाराही घाटदेखि लिच्चि गार्डेनसम्म) आउने जाने दुरी तय गरिएको छ भने एक डुङ्गामा ३ जनासम्म सहभागि हुन सक्नेछन। डुङ्गादौडमा प्रथम हुने समुहले नगद रु ४० हजार, द्वितिय हुनेले नगद रु ३० हजार, तृतिय हुनेले २० हजार र सान्तवना हुनेले नगद रु १० हजार पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगितामा टाढा बाट सहभागी हुन आउने टिमलाई खान बस्नको व्यवस्था आयोजकले गर्नेछ ।

त्यस्तै खेलाडी तथा उपस्थित महानुभावको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अकस्मिक मेडिकल टिम समेत तयारी अवस्थामा राखिएको छ । प्रतियोगितालाई सफल पार्नको लागि फेवा डुङ्गा समितिका अध्यक्ष बलराम गिरिको अध्यक्षतामा मुल आयोजक तथा प्रतियोगिता संयोजक बत्ति गुरुङको अध्यक्षतामा १२ वटा उपसमिति गठन गरेर तयारी भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.