सुचना, समाचार र मनोरन्जन

अस्पताल सुदृढीकरण कोष स्थापना गर्ने गण्डकी सरकारको निर्णय

कास्की,

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल सुदृढीकरण कोष स्थापना गर्ने भएको छ । कोषमा प्रदेश सरकार मातहतका अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नेछन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधिले यो व्यवस्था गरेको हो । कार्यविधि आएपछि अस्पताल व्यवस्थापन समितिले अस्पतालको आम्दानीलाई आफूखुशी खर्च गर्न नपाउने स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो । अस्पतालको वार्षिक कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गरेपछि मात्र कार्यविधिमा टेकेर समितिले खर्च गर्न पाउने उनको भनाइ छ ।

मन्त्रालय मातहत रहने अस्पताल सुदृढीकरण कोषको रकम प्रदेश अस्पताल र स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गरिने भएको हो । अस्पतालको आर्थिक अवस्था सुधारका साथै सुशासन कायम गर्न यो आर्थिक कार्यविधिलाई कडाइका साथ लागू गरिने मन्त्री पाठकले बताए।

मन्त्रालयका अनुसार अहिले गण्डकी प्रदेश मातहतका अस्पतालको वार्षिक आम्दानी झन्डै ६७ करोड रुपैयाँ रहेको छ । प्रदेशका १३ वटा अस्पताल स्तरोन्नति भएसँगै अस्पतालको आम्दानी थप बढ्ने छ ।

आजको प्रदेश मन्त्रिपरिषद् बैठकले नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको थियो । बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत गरिसकेको छ । स्तरोन्नति गरिएका १३ वटै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसमेत स्वीकृत भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.