स्याङ्जा :
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१४ मा अवस्थित श्री राजस्थल माध्यमिक विद्यालयमा प्राथमिक उपचार सम्बन्धी तालिम तथा प्राथमिक उपचार सामग्री (फर्स्ट एड किट) वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चेतना र आकस्मिक परिस्थितिमा पूर्वतयारी अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रम रोट्र्याक्ट क्लब अफ नक्साल शक्ति र खुमा अर्याल प्रतिष्ठान (केएएफ) को संयुक्त पहलमा सम्पन्न भएको हो। कार्यक्रमको साझेदार तथा सहयोगी संस्थाका रूपमा रोटरी क्लब अफ नक्साल शक्ति रहेको थियो भने गण्डकी मेडिकल कलेजबाट औषधि तथा स्वास्थ्य उपकरणहरू उपलब्ध गराइएको थियो।
तालिममा गण्डकी मेडिकल कलेजका आकस्मिक विभाग प्रमुख एवं रोटरियन प्राध्यापक डा. तरुण पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई प्राथमिक उपचारका आधारभूत तरिकाहरू, आवश्यक सावधानी र व्यावहारिक सीपहरूबारे विस्तृत जानकारी दिनुभएको थियो।
तालिममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रह्यो। कार्यक्रमको अध्यक्षता विद्यालयका उप–प्रधानाध्यापकले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पुतलीबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री बाबुराम बरालको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन खुमा अर्याल प्रतिष्ठानका अध्यक्ष श्री लेखनाथ शर्मा, रोट्र्याक्ट क्लब अफ नक्साल शक्तिका “रोटरी प्रतिष्ठान संयोजक” तथा खुमा अर्याल प्रतिष्ठानका सदस्य इन्जिनियर हिमांशु अर्याल, र रोटरी क्लब अफ नक्साल शक्तिकी संस्थापक डा. लुना अर्यालले संयुक्त रूपमा गर्नुभएको थियो।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथिका रूपमा रेडक्रस सोसाइटी, स्याङ्जा उपशाखाकी सभापति श्रीमती बन्दना लम्सालको पनि उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यालय समुदायमा प्राथमिक उपचारको ज्ञान विस्तार गर्न तथा स्वास्थ्य सुरक्षाप्रति सजगता अभिवृद्धिमा सकारात्मक योगदान पुर्याएको सहभागीहरूको भनाइ थियो।