सुचना, समाचार र मनोरन्जन

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा परेकी छिन । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको ज्यान गएको थियो । यही तनावबारेमा छलफल गर्न थाइल्यान्डकी प्रधानमन्त्री शिनवात्राले कम्बोडियाका पूर्वनेता हुन सेनलाई फोन गरेकी थिइन। त्यस बेला शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गर्दै एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो सार्वजनिक भएको छ ।

थाइल्यान्डका रूढीवादी सांसदहरूले यही फोनवार्तालाई लिएर प्रधानमन्त्री कम्बोडिया सामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् । यो विषय संवैधानिक अदालतमा पुगेपछि अदालतले आजैदेखि लागू हुने गरी अन्तिम निर्णय नआउञ्जेलका लागि शिनावात्रालाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको बीबीसीले जनाएको छ ।

थाइल्यान्डको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र शिनावात्रा परिवारबीचको सङ्घर्षले हावी भएको छ । शिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।

बुबा एवम् पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै प्रधानमन्त्री ३८ वर्षीया पेटोङटार्न पनि निलम्बित भएकी हुन ।

Leave A Reply

Your email address will not be published.