Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी
- कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण
- अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
चितवन,
वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोहीअनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्जभित्रको संवेदनशील ३० ठाउँमा ‘स्पाई क्यामरा’ जडान गरिएको छ । नियमित रूपमा क्यामरामार्फत वरपरको अवस्थाका बारेमा नियमन गर्ने काम भइरहेको उनले बताए ।
निकुञ्जभित्र सडक सञ्जाल बिग्रने भएकाले यो समयमा पर्यटकका लागि जिप सफारीसमेत बन्द गरिएको जनाउँदै उनले झाडी बढ्ने भएकाले पैदल र गाडीबाट कतिपय ठाउँमा गस्ती गर्न कठिन हुने भएपछि ती ठाउँमा अधिकतम हात्तीको प्रयोग गर्न थालिएको उल्लेख गरे ।
“निकुञ्जभित्र ५८ वटा पोष्ट छन् । ती पोष्टमा निकुञ्जको सुरक्षार्थ खटिएका नयाँ गोरख गणका सेना र निकुञ्जका कर्मचारी बस्छन् । करिब आधा पोष्टमा सुरक्षाका लागि हात्ती राखिएको छ । ती हात्तीमार्फत निकुञ्जमा गस्ती गरिन्छ”, सूचना अधिकारी मगरले भने । अहिले हात्ती र डुङ्गाको गस्ती बढाइएको उहाँको भनाइ छ ।
“राप्ती र नारायणी नदीमा डुङ्गामार्फत गस्ती गरिन्छ । रात बिताउने गरी गस्ती गरिने ठाउँहरू यो समयमा बढाइएको छ । यसलाई ‘एम्बुस’ भनिन्छ । यो टोली मचानहरूमा बसेर निकुञ्जको सुरक्षा गर्छन्”, मगरले भने ।
दैनिक रूपमा पैदल, साइकल, कतिपय अवस्थामा मोटरसाइकल र गाडीबाट गरिने नियमित गस्ती निरन्तर भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । यसका अतिरिक्त मध्यवर्ती क्षेत्रमा स्थानीय उपभोक्ता समिति र चोरीशिकार नियन्त्रण युवा समूहमार्फत चोरीशिकार नियन्त्रणको काम भइरहेको थापामगरले जानकारी दिए । उनका अनुसार ड्रोनमार्फत पनि खुल्ला ठाउँहरूमा गस्ती भइरहेका छन् ।
यो निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुका लागि प्रख्यात मानिन्छ । यहाँ बाघ र गैँडा हेर्न स्वदेश तथा विदेशबाट पर्यटक आउने गर्दछन् । वर्षात्को समयमा सामुदायिक वनहरूमा मात्रै जिप सफारी हुने गर्दछ । निकुञ्जमा मानव चहलपहल कम भएको बेला चोरीशिकारी बढ्न सक्ने भन्दै निकुञ्जले सुरक्षा रणनीतिलाई फरक ढङ्गले परिचालन गरेको हो ।