सुचना, समाचार र मनोरन्जन

पोखरामा हुँदैछ ईक्यान शैक्षिक मेला!

पोखरा : नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले आठौं संस्करणको ईक्यान शैक्षिक मेला आगामी भदौ २० र २१ गते पोखरामा आयोजना गर्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा मेलाबारे जानकारी दिँदै आयोजकहरूले यो मेला विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विशेष अवसर हुने विश्वास व्यक्त गरेका छन्।

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका मुलुकका विश्वविद्यालय, कलेज तथा प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। करिब ६० वटा स्टल रहने मेलामा शैक्षिक परामर्श संस्था, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित सेवा प्रदायकहरूको पनि सहभागिता रहनेछ।

मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरूले छात्रवृत्ति, शुल्क संरचना, बसोबास, अध्ययनको क्षेत्र र भविष्यका अवसरहरूबारे प्रत्यक्ष जानकारी पाउनेछन्। ईक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेका अनुसार विद्यार्थीहरूले आफ्नो रुचिअनुसार विषय र गन्तव्य मुलुक चयन गर्न सकून् भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

मेला संयोजक तथा ईक्यान कास्की उपाध्यक्ष सन्तोष शाहीका अनुसार, मेला अवलोकन गर्ने विद्यार्थीहरूलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायतका आकर्षक उपहार वितरण गरिनेछ। साथै विश्वविद्यालयमा भर्ना प्रक्रिया, योग्यता र आवश्यक कागजातहरूबारे विस्तृत जानकारी पनि मेलामा उपलब्ध हुने उनले जानकारी दिए।

मेलामा टाइम्स एजुकेशनल प्रस्तुतकर्ताका रूपमा रहनेछ भने ब्रिटिस काउन्सिलले सहकार्य गर्नेछ। ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (SSBT) लगायतका शैक्षिक संस्थाहरूको पनि सहभागिता रहनेछ। यसका साथै एनएमबि बैंक बैंकिङ साझेदारका रूपमा रहने जानकारी दिइएको छ।

ईक्यान कास्कीले पोखरामा आयोजना गर्न लागेको यो शैक्षिक मेलाले पोखरा तथा आसपासका विद्यार्थीहरूलाई विदेश अध्ययनको सही मार्गदर्शन प्रदान गर्दै उनीहरूको शैक्षिक लक्ष्य र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

Leave A Reply

Your email address will not be published.