सुचना, समाचार र मनोरन्जन

बाढी पहिरोबाट प्रभावित इलाममा कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत सामग्री पठायो

बाढी पहिरोबाट प्रभावित इलाममा कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ ।

पहिरोले सडक अवरुद्ध भएको र तत्कालका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको हो । स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टरको प्रयोग गरिएको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि प्रभावित क्षेत्रमा पुग्नुभएको छ । उहाँले स्थानीय पालिकासँगको सहकार्यमा माङसेबुङ र इलाम नगरपालिका क्षेत्रका प्रभावितलाई राहत सामग्री वितरण गर्नुभयो । दाल, चामल, आलु, नुन, तेल, कम्बल, सिरानी, त्रिपाललगायत प्रभावित क्षेत्रमा पठाइएको छ ।

बाढी पहिरोले माङसेबुङ गाउँपालिका र इलाम नगरपालिकासहित सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिकालगायतमा मानवीय तथा भौतिक क्षति भएको छ । यी सबै प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्‍याउने गरी काम भइरहेको छ ।

शुक्रवार र शनिवारको बाढी पहिरोका कारण इलाममा ज्यान गुमाउनेको सङ्ख्या ३९ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.