नेपालगञ्ज ।
बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ ले उत्कृष्ट व्यापारलाई निरन्तरता दिइरहेको छ। दसैंपछि फिल्मको प्रदर्शन अझ आक्रमक बनेको छ र देशभर दर्शकको उत्साह उल्लेखनीय देखिएको छ।
विशेषगरी नेपालगञ्जमा फिल्मले मंगलवार बम्पर व्यापार गरेको छ। त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन्। दर्शकको अत्यधिक भीडका कारण टिकट पाउनै गाह्रो भएको निर्माता रोहित अधिकारीले बताएका छन्।
फिल्मको प्रचार–प्रसारका क्रममा सोमबार साँझ कलाकारहरूसहित नेपालगञ्ज पुगेका निर्माता अधिकारीका अनुसार दर्शकहरूले कलाकारहरूलाई खुलेर स्वागत गरेका छन्। काठमाडौँबाट पुगेका कलाकार केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी र निर्देशक मिलन तामाङलाई स्थानीय दर्शकले भव्य स्वागत गरेका थिए।
सबै शो हाउसफुल भएपछि अभिनेता केदार प्रसाद घिमिरे माग्नेबुढाले सबैलाई जय दर्शक भन्दै सेल्फी लिएका छन् । उनले खुशी हुँदै भने,‘जय दर्शक । जय माईतीघर । जय हाउसफुल । जय नेपालगन्ज।
दर्शकले उत्साहपूर्वक फिल्म हेरेको र फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुँदै गएको निर्माता अधिकारीको भनाइ छ। नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरी हलमा पनि ‘माइतीघर’ले उत्कृष्ट प्रदर्शन गरिरहेको उनले बताए।
निर्माण पक्षले आधिकारिक व्यापारिक आँकडा सार्वजनिक नगरे पनि देशभर फिल्मले सुखद व्यापार गरिरहेको जनाइएको छ। मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’मा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङदेल लगायत कलाकारहरूको अभिनय रहेको छ।