सुचना, समाचार र मनोरन्जन

सहिद बोहराकी आमा भन्छिन् : सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

 

महेन्द्रनगर : गत भदौ २३ गते साँझ बझाङ खप्तडछान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन्। साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, ‘तिम्रो छोरा अब यस संसारमा रहेन।’

 

सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो। मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो।

 

बोहराका जेठो छोरा सुवासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौंमा गोली प्रहारबाट मृत्यु भएको थियो। जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन।

 

‘अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो’, कैलीदेवीले सुनाइन्।

 

कैलीदेवी करिब १० महिनाअघि मजदुरी गर्नका लागि बैङ्ग्लोर पुगेकी थिइन्। छोराको मृत्युपछि बैङ्ग्लोरमा रहेका आफन्तले पैसा जुटाएर विमानमार्फत काठमाडौं पठाएको उनले बताइन्। अहिले उनी कान्छो छोरा सन्दीपसँग काठमाडौं सिनामङ्गलमा रहेको डेरामा दिन कटाइरहेकी छिन्। ‘छोरा गुमाएपछि के गर्ने भन्ने सोच्नै सकेकी छैन, बाँकी दिन कसरी कटाउने हो टुङ्गो छैन’, उनले सुनाइन्, ‘सुवास विदेश गएर परिवार पाल्छु भन्थ्यो, आफैँ अस्तायो।’

 

सुवासले सहादत प्राप्त गरेपछि कैलीदेवीले धनगढीमा कक्षा–९ मा पढिरहेको छोरा सन्दीपलाई लिएर काठमाडौं गएकी थियन्। अहिले सन्दीपलाई एक जना म्याडमले तीनकुनेमा रहेको एउटा स्कुलमा तीन वर्षसम्म पढाइदिन्छु भनेकी छिन्। ‘छोरा पढाउने जिम्मा एक जना म्याडमले लिनुभएको छ, बाँकी अहिलेसम्म सञ्चो विसञ्चोसम्म सोध्न कोही आएको छैन’, उनले भनिन्, ‘हामी आमाछोरा टुहुरा जस्तै भएर बसेका छौँ।’

 

काठमाडौंमा बस्न सुरु गरेपछि पैसाको अभाव बढ्दै गएको छ। डेरा भाडा मासिक रु छ हजार छ, त्यसको जोहो कसरी हुन्छ भन्ने पनि थाहा छैन।

 

कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो। उहाँका श्रीमान् दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्थे। एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए। त्यसपछि परिवारसँग सम्पर्क छैन। श्रीमान् हराएपछि उनी आफैँ मजदुरी गर्न बैङ्ग्लोर पुगेकी थिइन्।

 

‘दश महिना बैङ्ग्लोरकमा घरघरमा पुगेर भाडामाझे, महिनामा २० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो, दसैँमा घर जान कान्छो छोरालाई रु १० हजार पठाएकी थिएँ, सुवासले केही दिनपछि पठाए पनि हुन्छ भनेको थियो’, उनले भनिन्। पहिले श्रीमान् र अहिले छोराले छाडेर गएपछि कैलीदेवीको परिवारमा आमा छोरामात्रै छन्। आम्दानी नभएपछि परिवारमा आर्थिक सङ्कट चुलिन थालेको छ। अहिले उनी काठमाडौंमा छोरासँगै बस्नका लागि आयस्रोतको बाटो खोज्दै छिन्।

 

Leave A Reply

Your email address will not be published.