सुचना, समाचार र मनोरन्जन

मनोनयन पत्रसँगै उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

प्रतिनिधिसभा चुनावका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले चुनावमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले रायसुझावका लागि हिजो सार्वजनिक गरेको निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदाको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणमा राजनीतिक दल र उम्मेदवारले चुनावसम्बन्धी खर्च गर्दा बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोली खाताबाट गर्नुपर्ने, खर्च गर्दा उम्मेदवारले खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने, २५ हजारभन्दा धेरै आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भर्पाई दिई खातामा जम्मा गर्नुपर्ने उल्लेख छ ।

प्रस्तावित आचारसंहितामा दुष्प्रचार, मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति दिन नहुने, स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैको सहयोग हुनुपर्ने, निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीलगायत सम्बद्ध निकाय, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र पत्रकार सबैलाई लागू हुने व्यवस्था गरिएको छ ।

मस्यौदामाथि यही मङ्सिर ७ गतेभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्था, आम नागरिक एवम् सरोकारवालालाई आयोगले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.