सुचना, समाचार र मनोरन्जन

मौलिक ठाडो भाका गीत सार्वजनिक, युमि र शेरबहादुरको दमदार अभिनयले वृद्धि गर्यो क्रेज

काठमाडौं :

नेपाली पहाडी संस्कृतिको मौलिकता झल्किने नयाँ ठाडो भाका गीत सार्वजनिक भएको छ। लोकसंगीतलाई आधुनिक शैलीमा पुनर्जीवित गर्ने उद्देश्यसहित तयार गरिएको उक्त गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा किरण बीसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरको स्वर समावेश छ। शब्द किरण बीसी र प्रयास कुँवर मगरले लेखेका हुन् भने संगीत संयोजन सुक्र तामाङले गरेका छन्। निर्माण पक्षका अनुसार ठाडो भाका र आधुनिक शैलीको संयोजनले गीतलाई थप आकर्षक बनाएको छ।

सार्वजनिक म्युजिक भिडियोलाई मुख्य कलाकार शेरबहादुर क्षेत्री र युमि गौतमको अभिनयले विशेष उचाइ दिएको छ। नेपाली मौलिक भेषभूषा, पहाडी परिवेश र परम्परागत चालचलनलाई समेटेर प्रस्तुत गरिएको भिडियोमा उनीहरूको प्रस्तुति दर्शकले प्रशंसा गरिरहेका छन्। युमि गौतमको अभिव्यक्तिपूर्ण अभिनयले गीतको भावलाई थप प्रभावशाली बनाएको दर्शकहरूको प्रतिक्रिया छ।

भिडियोमा देखाइएको गाउँघरको वातावरण, सांस्कृतिक रंग, पहाडी जीवनशैली र परम्परागत सामाजिक भावनाले नेपाली मौलिक संगीतको आत्मालाई प्रस्ट रूपमा चित्रण गरेको छ। छायांकन, लोकेशन छनोट र दृश्य व्यवस्थापनको प्रशंसा समेत भइरहेका छन्।

गीत सार्वजनिक भएको केही समयमै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया बढिरहेको निर्माण पक्षले जनाएको छ। धेरैले गीतमा रहेको मौलिकता, कलाकारहरूको अभिनय र संगीत संयोजनको उचाइको प्रशंसा गरेका छन्।

निर्माण पक्षका अनुसार नेपाली सांस्कृतिक पहिचानलाई विश्वभर पुर्‍याउने उद्देश्यसहित तयार गरिएको यस गीतले देश–विदेशमा रहेको नेपाली समुदायको रुचि जित्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.