पोखरा : पर्यटनको राजधानी सहर पोखराको मुटु व्यवसायकि केन्द्र महेन्द्रपुलबाट हेर्दा अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेे हिमाल आँखैमा टाँसिन्छ । घरछेउमै सेती नदी अविरल बगिरहन्छ । यही पोखरेली माटोको सुगन्धको स्वाद लिँदै र यही बाटोमा अभिषेक बास्तोलाले आफ्ना पाइलाका डोबहरू छोड्दै विश्व टेलिसको कोर्टसम्म नेपाली चन्द्रसूर्य अंकित झण्डा फरफराउँदै छन् ।
माछापुच्छ्रेको छायामुनि हुर्किएको एउटा सपना जब विश्वस्तरको हार्ड कोर्टमा उत्रिन्छ, तब त्यो व्यक्तिको मात्र नभई सिंगो राष्ट्रको गौरव बन्छ । पोखराको लेकसाइड र रङ्गशालाको धुलोमा ८ वर्षको उमेरमा पहिलोपटक टेनिस ¥याकेट समातेका अभिषेक बास्तोला आज नेपालको टेनिस इतिहासलाई पुनर्लेखन गर्दैछन् । २३ वर्षीय यी तन्नेरीले १० करोड ६० लाख टेनिस खेलाडीहरूको विश्वव्यापी भीडबाट आफूलाई अलग्याउँदै, नेपालको एक्ला प्रतिनिधिको रूपमा उभ्याउन सफल भएका छन् ।
अभिषेक बास्तोला नाम मात्रका खेलाडी होइनन्, उनी नेपाली टेनिसको आधुनिक इतिहासका साक्षी र रचयिता पनि हुन् । उनी युटीआर प्रो टेनिस टुर जस्तो प्रतिष्ठित विश्वव्यापी व्यावसायिक सर्किटमा प्रतिस्पर्धा गर्ने पहिलो र एक मात्र नेपाली खेलाडी बनेका छन् । विश्वका शीर्ष ३,००० खेलाडीहरू मात्र सहभागी हुन पाउने यो मञ्चमा उभिनु नेपालजस्तो टेनिसको न्यून पूर्वाधार भएको देशका लागि चानचुने उपलब्धि होइन । अभिषेकले नै यो क्रेडिट नेपाललाई दिएका छन् ।
सन् २०२१ देखि हालसम्म विश्वभर १४ वटा युटीआर प्रतियोगिता खेलिसकेका अभिषेक अब आफ्नो १५औँ सहभागिताका लागि भियतनामको फान थिएट प्रस्थान गर्दैछन् । डिसेम्बर ८ देखि १४, २०२५ सम्म हुने यस प्रतियोगितामा फ्रान्स, चेक गणतन्त्र, अस्ट्रेलिया, अर्जेन्टिना लगायतका २० राष्ट्रका अब्बल खेलाडीहरूसँग उनले नेपालको झण्डा फहराउँदै प्रतिस्पर्धा गर्नेछन् ।
भियतनाममा हुने प्रतियोगिता अभिषेकका लागि फलामको चिउरा सरह हुनेछ । त्यहाँ उनको भेट एटीपी च्यालेन्जर च्याम्पियन तथा विश्व वरियतामा ३०३ औं स्थानमा रहिसकेका फ्रान्सेली खेलाडी आर्थर वेबरजस्ता दिग्गजहरूसँग हुनेछ । तर, अभिषेकको तयारी र आत्मविश्वास कमजोर छैन ।
अभिषेक ११.७ को युटीआर रेटिङसहित कोर्टमा उत्रिँदैछन् । स्मरण रहोस्, नोभाक जोकोभिच र कार्लोस अल्कारेजजस्ता विश्वका महान् खेलाडीहरूको रेटिङ १६ हुन्छ । कुनै पनि नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै उच्च रेटिङ हो । २० हजार अमेरिकी डलर पुरस्कार राशिको यो प्रतियोगिता अभिषेकका लागि केवल खेल मात्र होइन, आफूलाई एटीपी स्तरका खेलाडीहरूसँग दाँज्ने एउटा दुर्लभ अवसर पनि हो ।
पोखराका व्यवसायी तथा स्वयं टेनिस खेलमा रुचि राख्ने बुबा अनुज बास्तोलाको प्रेरणाले अभिषेकलाई यो खेलमा लाग्न प्रेरित ग¥यो । तर, पोखरादेखि अमेरिकासम्मको यात्रा सहज थिएन । नेपालमा स्तरीय प्रशिक्षण केन्द्र, आधुनिक पूर्वाधार र पर्याप्त प्रशिक्षकको अभाव सधैं खड्किरह्यो ।
हाल अमेरिकामा अध्ययनका साथै व्यावसायिक टेनिस खेलिरहेका अभिषेक भन्छन्, ‘नेपालको झण्डा बोकेर खेल्दा जुन ऊर्जा आउँछ, त्यसले मलाई निरन्तर अघि बढ्न प्रेरित गर्छ ।’ उनी स्वीकार गर्छन् कि यदि नेपालमै प्राविधिक सुविधा र प्रशिक्षणको उचित व्यवस्था हुने हो भने, धेरै अभिषेकहरू जन्मिनेछन् । उनको यो भनाइले नेपालको खेलकुद नेतृत्व र राज्य संयन्त्रलाई गम्भीर प्रश्न पनि तेस्र्याएको छ ।
अभिषेकको आँखा अहिले भियतनामको कोर्टमा मात्र सीमित छैन । उनले सन् २०२६ को प्रतिष्ठित यूएस ओपनमा सहभागी हुने र ओलम्पिकमा खेलेर नेपाललाई विश्वस्तरमा चिनाउने महत्ववाकांक्षी लक्ष्य राखेका छन् । १३ वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा २२ भन्दा बढी राष्ट्र घुमिसकेका उनको अनुभवले भन्छ, ‘असम्भव केही छैन, मात्र निरन्तरता र लगानी आवश्यक छ ।’
अभिषेक बास्तोलाले व्यक्तिगत प्रयास र पारिवारिक सहयोगमा जे हासिल गरे, त्यो अविश्वसनीय छ । तर, एउटा खेलाडीले कहिलेसम्म एक्लै देशको भार बोक्ने ? पोखरामा आयोजित पत्रकार सम्मेलनमा सरोकारवालाहरूले उठाएको संस्थागत सहभागिताको प्रश्न निकै पेचिलो छ ।
अभिषेक आज भियतनाम जाँदै गर्दा, उनीसँग केवल र्याकेट र बल मात्र छैन, उनीसँग ३ करोड नेपालीको आशा पनि छ । प्राइम भिडियो मार्फत विश्वले उनलाई हेर्दा, नेपालले पनि आफ्नो यो होनहार छोरालाई गर्वका साथ हेर्नेछ ।