ललितपुर :
बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत पहिचान बनाउँदै आएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ।
मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा कृतिको लोकार्पण गरिएको हो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्ला र प्रचारका आधारमा चर्चामा आएका साहित्यकारहरूको दीर्घकालीन अस्तित्व नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको गन्तव्य सुनिश्चित हुने बताए। पुरस्कार, प्रतियोगिता र प्रचारका भरमा स्थापित हुने चाहना राख्ने सर्जकहरूको भीडमा केदार सङ्केत फरक देखिएको उनको भनाइ थियो। प्रयोगवादी शैली, विषयवस्तुको विविधता र कथानकको गम्भीरताका कारण राम्रो कृतिले समयसँगै आफैँ मूल्याङ्कन पाउने उनले बताए।
कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको बताइन्। कृतिका रूपमा प्रकाशित हुँदा कथाहरू परिष्कृत बनेको उल्लेख गर्दै उनले आगामी लेखनकर्म अझ सशक्त होस् भन्ने शुभकामना व्यक्त गरिन्।
कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै भएको उल्लेख गर्दै आकर्षक कलेवर र साजसज्जामा प्रकाशित पुस्तकमा मूर्धन्य साहित्यकारहरूको संलग्नताले कृतिको स्तरीयता पुष्टि हुने बताए। उनले केदार सङ्केतका कथाहरूले नेपाली साहित्यको समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सभापति खेमनाथ दाहालले प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको र आफू ती कथाबाट प्रभावित भएको उल्लेख गर्दै गहन समीक्षात्मक मन्तव्य राखे।
कृतिकार केदार सङ्केत भौतिक रूपमा उपस्थित हुन नसके पनि भिडियो कलमार्फत मन्तव्य व्यक्त गर्दै लेखकले सिर्जनाका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त गर्ने भएकाले धेरै बोलिरहनु नपर्ने बताए। पाठकको प्रतिक्रिया नै लेखकका लागि सबैभन्दा ठूलो पुरस्कार भएको उल्लेख गर्दै प्राप्त प्रतिक्रियाका आधारमा आगामी लेखनलाई परिमार्जन गर्दै अघि बढ्ने उनले बताए।
कार्यक्रममा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिजलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुवँरलगायत लेखक तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम मिलाप मासिकका सम्पादक कृष्ण भुसालको मन्तव्यसहित सम्पन्न भएको थियो।