काठमाडौँ :
चर्चित गायिका समीक्षा अधिकारी सन् २०२५ को डिसेम्बर महिनाको युट्युब चार्ट्समा प्रभावशाली उपस्थिति जनाउँदै अग्रपंक्तिमा देखिएकी छन्। युट्युबले ट्रेन्डिङ सूची हटाएपछि प्रयोगमा आएको युट्युब चार्ट्स मा समीक्षा अधिकारीका स्वर समावेश दुई गीत शीर्ष स्थानमा परेका छन्।
युट्युब चार्ट्सको पहिलो स्थानमा समीक्षा अधिकारी र सुवास खत्रीको स्वर रहेको गीत ‘शिरमा शिरबन्दी’ परेको छ। लोकभाखामा आधारित यस गीतले हालसम्म १ करोड १३ लाखभन्दा बढी भ्युज बटुल्दै व्यापक लोकप्रियता हासिल गरेको छ। विशिष्ट संगीत संयोजन र सशक्त गायनशैलीका कारण गीत छोटो समयमै दर्शक–श्रोतामाझ चर्चित बनेको छ।
यसैगरी, चार्ट्सको दोस्रो स्थानमा रहेको गीत ‘झलिको’ मा पनि समीक्षा अधिकारीको स्वर समावेश छ । अर्जुन सापकोटाको संगीतमा तयार यस गीतमा अर्जुन सापकोटासहित मेलिना राई र समीक्षा अधिकारीको स्वर रहेको छ । करिब दुई महिनाअघि सार्वजनिक भएको गीत सामाजिक सञ्जालमा अत्यधिक प्रयोग भइरहेको छ । टिकटक र रिल्समा हजारौं भिडियो बनेको यस गीतले करिब १ करोड ९० लाख भ्युज हासिल गरेको छ।