सुचना, समाचार र मनोरन्जन

फिल्म उद्योग ६० वर्ष पुग्दा बोर्डद्वारा पोस्टर अभिलेखीकरण

काठमाडौँ :

नेपाली फिल्म का पोस्टरलाई फिल्म संग्रहालय मा अभिलेखका रूपमा राखिने भएको छ। फिल्म विकास बोर्ड ले संग्रहालय स्थापना गर्ने तयारीसँगै स्वदेशी फिल्मका पोस्टरको डिजिटल तथा भौतिक संकलन सुरु गरेको हो।

बोर्डका अनुसार स्वदेशी फिल्मको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालयभित्र फिल्म पोस्टर प्रदर्शनी समेत गरिनेछ । यसका लागि बोर्डले फिल्म निर्माता, निर्देशक तथा सम्बन्धित निकायलाई पोस्टर उपलब्ध गराउन आग्रह गरेको छ।

नेपाली फिल्म उद्योगले १५ असोजमा ६० वर्ष पूरा गर्ने सन्दर्भमा बोर्डले उक्त अभियान अघि बढाएको हो। यस अवधिमा ६ हजारभन्दा कम फिल्म सार्वजनिक भएको अनुमान बोर्डले गरेको छ।

फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्म पोस्टर प्रचार सामग्री मात्र नभई फिल्म निर्माणको समय, प्रवृत्ति र इतिहास बोकेको महत्वपूर्ण अभिलेख भएको बताए। उनका अनुसार यस्ता सामग्रीको संरक्षण र सार्वजनिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई नेपाली फिल्मको यात्रासँग परिचित गराउनु बोर्डको मुख्य उद्देश्य हो।

बोर्डले मंगलबारभित्र आफू संलग्न फिल्मका पोस्टर डिजिटल वा भौतिक रूपमा बोर्डमा उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.