म्याग्दी : यहाँका एक किसानले १२० मुरी धान भित्र्याएका छन्। मङ्गला गाउँपालिका-२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिमाणको धान फलाएका हुन्।
खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ। खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन्।
‘एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो। गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो।’ सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै उनले भैँसीपालन गरेका छन्।
म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ। खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए।
‘घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु’, उनले भने, ‘धान प्रतिपाथी चार सय र चामल एक हजारका दरले बिक्री हुन्छ।’ घरमै उनले मिल पनि राखेका छन्।
पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो। सहरबजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता छन्।
‘गौरीया धान पाक्दा खेत नै बसाउँछ। भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ। गौरीयाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन, गौरीया नै खोज्छन्’, उनी भन्छन्।
म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्याय बताउँछन्। गौरीया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पीठोका लागि उपयुक्त हुन्छ। न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ। असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ।
गौरीया धानको दाना अरु जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुन्छ। पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोगी हुने बताइन्छ।
पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी(दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन्। वार्षिक १० लाखभन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखरा बिक्री हुने उनले सुनाए। एकवटा स्थानीय लिमे(पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसी पालेका छन् उनले। हाल दैनिक १० लिटर दूध बिक्री गरिरहेकव र बढाउने सोचमा रहेको उनले बताए।
एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिन्छन् उनी। युवाहरू विदेशिने बढी भएकाले खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, जलवायु परिवर्तनका कारण खेतीपात्रो परिवर्तन हुँदा चुनौती थपिएको उनको भनाइ छ।
रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो। कोरोनाताका लकडाउनमा उनीहरू पोखराबाट जन्मथलो फर्किएका हुन्।
‘हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ। कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धानखेती गर्दै आएको छु’, उनी भन्छन्।
पुर्खाहरूले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ चलाएर खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन्।